पारलिङ्गी हुनुको मेरो व्यक्तिगत अनुभव


 यो लेख यी भाषाहरूमा पनि पढ्न सकिन्छ -  अङ्ग्रेजी, नेपालभाषा, हिन्दी

नेपाल सम्बत १११९ चिल्ला १९ अर्थात् सन् १९९९ मार्च ४ तारिखका दिन मेरो परिवारको सबैभन्दा जेठो बालकका रूपमा जन्म्यो। जेठो बच्चा अनि जेठो नाती। मेरो बाल्यकाल मेरो ठूलो परिवार बाज्या बज्ये कका मामा निनि हरू सँगै बित्यो। मेरो निनिले मेरो ‘मचा बू ब्यङ्केगु’ परम्परामा नाम क्रोजन कपाली भनेर राख्यो। म २ वर्ष हुन्दा मलाई इडेन गार्डेन बोर्डिङ स्कुलमा भर्ना गरियो।

सानै उमेर देखि ‘केटीले गर्नुपर्छ’ भनिएका कुराहरू गर्न मनपर्थ्यो। म भन्दा ८ महिना जेठ कजन दिदि पनि थियो। मैले उसँगै खेल्दै हुर्कने मौका पायो। मेरो मम्मिले मेक अप गर्दा मलाई मनपर्थ्यो। मलाई जति अगाडी सम्म याद छ, म आफूलाई केटी भएको नै अनुभव गर्थेँ। मलाई मेरो महिला शिक्षकहरू फ्यासिनेटिङ लाग्थ्यो र घर फर्केपछी उनीहरूले जस्तै एक्ट गर्थेँ। म घर आउन बित्तिकै मेरो निनिको हील जुत्ता लगा’र एउटा कपडा बेरेर मेरो शिक्षकहरूको एक्ट गर्थेँ। श्रावणको महिनामा दिदि बहिनी मामा निनि हरू सँग मेहेन्दी ‘लेंचा’ लगाउँथेँ। यो केटाहरूले गर्न हुन्दैन भनेर अरुले भन्दा म रुन्थेँ भन्ने मलाई याद छ।

हाम्रो समुदायमा १२/१३ वर्ष हुँदा केटाहरूलाई ‘कयेतापुजा’ गर्ने चलन छ। त्यो नगरे सम्मन् कपाल काट्न हुन्दैन र पैला कपाल पाजुकै हातबाट काट्न पार्छ भन्ने मान्यता भएकाले मैले कपाल लामो पार्ने मौका पाएको थियो। मलाई मेरो बज्येको सारि बेरेर घरमा नाच्ने शौख थियो। धेरैलाई यो कुरा पच्दैनथ्यो र उनीहरूको अनुहारले यो कुरा स्पष्ट बोल्थ्यो।

कक्षा २मा पुग्दा मलाई मेरो शिक्षकहरूले कपाल काट्ने भन्यो किनभने केटाहरूले कपाल पाल्नु अनुशासित होइन रे। अब शिक्षकले भनेपछी गर्नै पर्थ्यो।

कक्षा ५

सबै बच्चाहरू जसरी हुर्किन्छ, म पनि त्यसरी नै हुर्किरा’थेँ। मैले आफूलाई कहिल्यै ध्यान दिएर हेरेको थे’न। एक दिन मेरो एउटा साथीले मलाई ‘तँ त कस्तो केटी जस्तै कम्मर हल्ला’र हिँड्छस्’ भनेर भन्यो। त्यो बेला त्यती वास्ता गरेन मैले। कक्षामा त्यो बेला विवाहको कुराकानी पनि भएको एकताका। त्यो बेला मलाई जसरी तिमी केटीसँग विवाह गरेर श्रीमान् हुनपर्छ भनेर भनिन्थ्यो, एकदमै असजिलो र अप्ठ्यारो महसुस गर्थेँ। यसो त्यसरी कल्पना गर्न थाल्यो भने नरमाइलो महसुस हुन्थ्यो। बरु म आफू केटी अनि कसैको श्रीमती भनेर कल्पना गर्नु एकदम रमाइलो अनुभवन हुन्थ्यो। मलाई त श्रीमती भएको कल्पना गर्नु नै धेरै सहज महसुस हुन्थ्यो।

कक्षा ६

म पहिलो पटक किशोरावस्थामा प्रवेश सुरु हुन लागेको थियो । यसताका कक्षा कोठामा लैङ्गिकताका आधारमा छुट्टिन थालिसकेको थियो। यो भन्दा अगारि को केटा को केटी केही मतलब हुन्दैनथ्यो। तर अब केटाहरू छुट्टै अनि केटीहरू छुट्टै भन्ने भावना आउन थालिसकेको थियो। समाजिक परिवेशका कारण पनि होला। मलाई केटीहरूसँगै समूहमा उठ्न बस्न मनलाग्थ्यो तर त्यसो गर्न हुन्दैन भन्थ्यो। केटाहरूसँग बस्न जाउ भन्ने कुरा गर्थ्यो। केटाहरूसँग बस्न म रुचाउँदिनथेँ। मलाई सहज महसुस हुन्दैनथ्यो।

मेरो साथीहरूले ममा ‘अस्वभाविक स्वभाव’ भनेर नोटिस गर्न थाल्यो। ए कस्तो केटी जस्तै ब्यौरा देखाउँछ भन्ने कुराहरू गर्न थाल्यो। केटी जस्तै बोल्यो, हिँड्यो भनेर सुनाउन थालेपछी मनमा डर उत्पन्न भयो। त्यो बेला सिरियलहरू पनि हेर्थेँ जुन सामाजिक परिवेशमा केटीहरूले मात्र हेर्छ भन्थ्यो।

कक्षा ७

This image has an empty alt attribute; its file name is frogzoo.jpeg

यो समय म आफूलाई खोज्दै थिएँ। म फरक छ भन्ने कुरा त आभास भैसक्या थियो। म केटी जस्तो व्यवहार गर्थेँ। मलाई त्यो बेला यस बारे एकदम दुःख लाग्थ्यो। मैले केही गरेँ केही बोलेँ भने फ्यात्त त्यही बखत ‘कस्तो केटी जस्तो’ भन्ने कमेन्ट आउन्थ्यो। यसले मलाई एकदम उदासिनतामा धकेल्यो। मैले आफूलाई कुनै कार्यमा अघि बढ्न निरुत्साहित गर्न थालेँ। कक्षामा चुप लाग्नु ठीक लाग्यो किनभने बोल्यो भने फेरी कमेन्ट गर्छ। अरुहरू भएको बेलामा हिँड्न कम गर्थेँ, हिँड्दिनथेँ, किनभने हिँडेको देख्यो भने फेरी कमेन्ट गर्छ। म आफू भित्रै गुम्सिएको महसुस गर्थेँ। त्यसैले म एकदम पुरुष जस्तो छु भन्ने देखाउन जताउन थालेँ। हेरस्टाइल गरेँ अरू केटाहरू जस्तै। यसो केटाहरूले कसरी बोल्छ भनेर सुनी सुनी त्यसरी बोल्न थालेँ। मेरो धेरै ध्यान त केटाहरूले कसरी व्यवहार गर्छ अनि म कसरी त्यसको नक्कल गरौँ भन्नेमा लाग्थ्यो। जस्तै अब ‘झगडा गर्नुको महिमा गर्थेँ’ किनभने त्यो केटाको काम भिनिन्थ्यो। मेरो गर्लफेण्ड छ है भन्ने ढाक देखाउने जस्तो पनि गर्न थालेँ।

मेरो साथीहरूले मलाई ‘छक्का, हिजडा’ जस्ता शब्दहरूबाट पुकार्न थाल्यो। मैले त मान्छेहरू अगाडी प्रस्तुत हुने आत्मबल समेत गुमाउन थालेँ। “मलाई यो के हुँदैछ?”, “म किन यस्तो छु?”, सबैले मलाई किन ‘गे’ भन्छ, जस्ता प्रश्नहरूले धेरै सतायो। ( नेपाली समाजमा ‘गे'(समयौनिक व्यक्ति) र पारलिङ्गी(ट्रान्सजेण्डर) बीच फरक छ भन्ने बुझेका छैनन्।) मैले आफ्नो अधिकतम समय यही सोच्दै बिताएँ कि कसरी म योयो लाञ्छनाहरूबाट जोगिनसकूँ। मेरो ध्यान सँधै म कसरी केटीजस्तो नदेखिउँ भन्ने तिर नै जान्थ्यो। यसले मलाई धेरै मानसिक तनाव सृजना गरिसकेको थियो, जुन शायद गैर-पारलिङ्गी व्यक्तिहरूले बुझ्न सक्दैन।

कक्षा ८

This image has an empty alt attribute; its file name is img_20170301_075219-1024x496.jpg

कोशोरावस्थामा पुग्यो। मैले शारीरिक र भावनात्मक परिवर्तनहरू महसुस गर्न थाल्यो। यौन भावना के हो, उत्तेजित हुने के हो भन्ने बुझ्न थाल्यो। मेरो अनुहारमा रौँ पलाउँदा मलाई एकदम असहज महसुस भयो। अझ शरीर भरी पलाउँदा झनै। “का! यो मलाई किन” “यस्तो नभ’को भए नि हुन्थ्यो” जस्तो महसुस भयो। स्वर परिवर्तन हुन थाल्दा झन नरमाइलो महसुस भयो। मुख्य गरी दाह्री जुँगा आउँदा असहज महसुस गर्न थाल्यो। मेरो शरीर र अन्तारात्माले मेल खाएन जस्तो अनुभव भयो।

यो बेला मैले आफ्नो लैङ्गिकता र यौनिकता बारे थहा पायो। त्यो बेला एउटा चर्चित कलाकार सन्तोष पन्तको छोरा अब छोरी भन्ने शीर्षकको समचार भाइरल हुन थाल्यो। त्यही बेला मैले त्यो समाचार पढ्ने मौका पायो। त्यही समाचार पढेर मैले ‘ट्रान्सजेण्डर’ भन्ने शब्दसँग परिचित हुने मौका पायो। मैले गुगलमा गएर हेर्न थाल्यो अनि यो एलजिबिटीआइ बारे समयौनिकता, पारलैङ्गिकता बारे बुझ्न थाल्यो। अनि लैङ्गिकता यौनिकताका विषयमा आफूलाई ज्ञान लिन थाल्यो। मैले साइबरमा धेरै पैसा सकायो होला यो खोजी गर्दा गर्दै।

अरु कतै यस्ता विषयमा कुराकानी हुन्दैनथ्यो र थाहा पाउने जान्ने माध्यम नै इन्टरनेट बन्न थाल्यो।

सबै भन्दा महत्वपूर्ण पाटो जब मैले म पुरुषहरू प्रति आकर्षित छु भन्ने बारे बुझ्यो। यसलाई म शब्दमा व्याख्या गर्न सक्दिनँ। त्यो अनुभव नै अनौठो थियो, भिन्न थियो, आकर्षणको। मैले गुगलबाट पोर्नहरू हेर्न थाल्यो। मैले पारलिङ्गी पोर्नहरू खोजेर हेर्न थाल्यो। यस बारे मैले मेरो केही कक्षादौँतरीहरूलाई भन्यो। उनीहरूले घिन मानेर यो परिवर्तन गर्नपर्छ भन्ने कुरा गर्यो। मेरो एउटा कक्षादौंतरी गरिमालाई भने एलजिबिटी बारे थाहा थियो।

फेसबुकमा एउटा फेक अकाउन्ट खोल्यो। मैले केटीहरूको पहिरन र मेक अप किनेर मेरो कोठामा लुकाएर राखेको थियो। मैले आफ्नो यौनिकता एक्स्प्लोर गर्ने उमेर थियो। मलाई त्यो बेला फेसबुकको फेक अकाउन्टमा हुने अति कामुक कुराकानी मनपरेन, त्यसैले त्यो अकाउन्ट डीलिट हान्दियो।

कक्षा ९

मलाई होच्याउने, जिस्क्याउने काम अत्ति भैरा’थ्यो। मलाई असह्य भएर सबैको अगारि कक्षामा ‘हो म ट्रान्सजेण्डर हो, ह्वाट ड फक डु यु ह्याब प्रबलम’ भनेर चिच्याएँ। अब त झनै संघर्ष गर्नुपर्यो। म स्कुलमा आफ्नो लैङ्गिक पहिचानका निम्ति खडा भयो। मेरो स्कुल नर्क सरी हुन थाल्यो। झैंझगडा, हेप्ने, होच्याउने, बुलि गर्ने, त दिनाचार्य नै हुन थाल्यो। मलाई स्कुलबाट दिक्क हुनथालिसक्याथ्यो। आत्महत्या गर्ने सोँच समेत आ’को थियो। मैले आफूलाई अरु भन्दा ताढा राख्न थाल्यो। कहिले मलाई पानीले खन्यायो त कतिले डस्टर पेनले हान्यो। कहिले आलु, मल्ता र अनावश्यक टिफिनले हिर्कायो। कहिले खुट्टा तानेर झार्यो भर्याङमा बस्दा। मौखिक दुर्व्यवहार त चुचुरामा थियो।

इन्टरनेटको माध्यमबाट मैले नील हिरा समाजमा सम्पर्क राख्यो र अरु एलजिबिटी मान्छेहरू भेट्यो। म खासै त्यहाँ जान्दैन थियो। मलाई मेरो स्कुलको दैनिक दिक्कदारीबाट मुक्त हुनु थियो। म स्कुलमा धेरै गयल हुन थाल्यो। म धेरै जसो फेसबुकमा झुन्दिन्थ्यो किनभने त्यहाँ अरु मान्छे थियो जो म जस्तै हो र अरु जो मलाई म जस्तो छु त्यस्तैमा मनपराउन्थ्यो। म त दुनियाँबाट विच्छेद भएको र भर्चुवल दुनियाँ मनपराएको महसुस गर्न थाल्यो। अलिकति रमाइलो त थियो स्कुल तर डर, त्रास, घृणा र बुलिङ धेरै।

कक्षा ९को अन्तिम तिर, मैल फेसबुकमा पोस्ट लेखेर आफ्नो बारेमा भन्यो। मैले नकरात्मक कमेन्ट पायो आफन्तको फोनबाट। यो नाटक गरेको हो, अप्राकृतिक हो भन्ने दोष समेत दियो। अरु मान्छेले आफ्नो बारेमा नराम्रो भन्दा त्यती केही महसुस हुन्न, तर आफन्त, आफ्नै मान्छेले त्यसो गर्दा एकदम नराम्रो महसुस हुन्छ। मेरो आमा बुबा फेसबुकमा थिएन, सो थाहा भएन।

मैले ८ कक्षा हुँदा किनेर लुकाएर राखेको केटीको लुगा मैले मेरो बाज्याको जन्मदिनमा लगाउने निर्णय गरेँ। त्यो लगा’र म कोठा बाहिर निस्केँ, घर बाहिर। मेरो बाज्या बज्ये बस्ने घर म बस्ने भन्दा ४ घर उता थ्यो। मैले त्यो दिन धेरै सोचिनँ। अब भन्नै पर्छ थाहा दिनै पर्छ घरमा पनि भनेर म बाहिरिएँ। पहिले त छरछिमेक, घरपरिवार अर आफन्तहरूले कुरा काट्न थाल्यो। दिनकै धेरै नकरात्मक टिक्का टिप्पणीहरू सुन्न पर्थ्यो। तर बिस्तारी परिवारमा भए हालात सुध्रन थाल्यो। स्कुलमा भने अझै बिग्रँदै गयो। मेरो प्रिन्सिपल मेरो सबैभन्दा ठूलो बुली भन्न पुग्यो। उसको संकीर्णताका कारण मैले स्कुलमा धेरै कष्ट खप्नुपर्यो। उसले मलाई स्कर्ट लगाउन दिएन। केटाहरूसँगै बस भन्ने खाले आदेश दियो।

धेरैले के पनि भन्यो भन्दा ‘पारलिङ्गी महिलाहरू बच्चा जन्माउन सक्दैन, विवाह हुँदैन अनि आफ्नै परिवार हुँदैन।” मलाई त्यो बेला के जवाफ दिन मन थियो भन्दा, “तिमीहरूलाई यौनिकताको विविधता बारे थहाछैन भन्दैमा त्यो कुरा एक्जिस्ट नै नगर्ने होइन नि। पारलिङ्गी महिला प्रति आकर्षित हुने व्यक्तिहरू पनि हुन्छ। समस्या के हो भन्दा यही समाजले यस्तो सम्बन्धलाई स्वीकार्दैन र विभेद गर्छ। अनि को खुलेर सम्बन्धमा बस्छ।” समस्या हाम्रो वैवाहिक कानुनमा छ जसले हाम्रो विवाहलाई मान्यता दिएको छैन। हामी गर्भवती हुँदैन, तर हामीले चाह्यो भने आफ्नै तरिकाले बच्चा उत्पादन गर्न सक्छ। यो लाज मान्ने विषय होइन। हाम्रो समाजमा बच्चा नजन्माउने र जन्माउन नसक्ने महिलाहरूलाई धेरै विभेद र लाञ्छना गरिन्छ र त्यो तोड्नै पर्छ। हामी अभिभावक नभएका बच्चाहरू एडप्ट गर्न सक्छ। हामी अरु महिला भन्दा पनि राम्रो आमा बन्न सक्छ। जे भएनी, विवाह गर्नु नगर्नु बच्चा हुनु नहुनुले हाम्रो जीवनको मोललाई निर्धारण गर्दैन। यो धारणालाई चुनौती दिनुपर्छ।

समाजमा पहिचान खुलाउँदा, कक्षा १०मा हुँदा

म कक्षा ९मा परिवारमा खुल्दा धेरै कलह भयो। मैले स्कुलमा स्कर्ट लगाउन चाहँदा कपाल पाल्न चाहँदा मलाई प्रिन्सिपलले स्कुलबाट निकाल्ने धम्की दियो। मलाई धेरै गाली गलौज र सजाय पनि दिन्थ्यो। प्रिन्सिपल एकदम तानाशाही स्वभावको भएकोले मलाई स्कुलमा एकदम गाह्रो भएको थियो। म कति त्रसित थियो मलाई कति अन्याय भयो स्कुलमा, मलाई कति प्रिन्सिपलले कुट्यो, म शब्दमा बयान गर्न सकेन। मलाई प्रिन्सिपलले धेरै पटक अफिसमा बोलाएर तर्साउँथ्यो, मानसिक यातना दिन्थ्यो, “यो मेरो स्कुल हो र यहाँ मेरो मर्जी चल्छ। मसँग पूर्ण अधिकार छ। तिमी स्कुलबाट प्रतिबन्धित हुनसक्छ। तिमीलाई एस.एल.सी. दिन दिन्नँ।” मलाई भावनात्मक धम्की दिन्थ्यो। एकपटक मलाई बाटोमा स्कर्ट लगा’र हिनेको देखेछ, अर्को दिन स्कुलमा मलाई नराम्रोसँग गाली गरेर कुट्यो।

मेरो स्यानो गल्ति छ भने त्यसलाई कोट्याएर गाली गर्थ्यो अनि विषय घुमाईफिराई मेरै लैङ्गिकतामा लग्थ्यो र अझै गाली गर्न कुट्न थाल्थ्यो। प्रिन्सिपल जस्तो व्यक्तिले मलाई यसो गर्दा कक्षादौंतरीहरूलाई बुलिङ गर्ने प्रोत्साहन मिल्यो। शिक्षकहरू राम्रै थियो। मलाई कहिल्यै लैङ्गिकताको आधारमा दुर्व्यवहार गरेन। मेरो केही साथीहरू थियो जसले ‘घृणा’ नै त गरेन। मलाई त्यो स्कुलबाट छिट्टै मुक्त हुनुथ्यो। कहिले एस.एल.सी. द्यौँ र मुक्ति पाउँछ भनेर कुर्न थाल्यो। मलाई त त्यो स्कुल जेल भन्दा कम थिएन, एउटा हिट्लर जेलर सहित भएको जेल।

अर्को हातमा मेरो परिवार थियो। मेरो धेरै आफन्तहरूले मेरो विरोध गर्यो। घृणाको भावना ओकल्न थाक्यो। यो सबै घटनाहरू लेखिसाध्य छैन। कसैले एक महिना सम्म बाँधेर कोठामा थुन्नपर्छ भन्यो, कसैले एक महिना सम्म खान नदि भोकै राख्न पर्छ भन्यो। घृणावचनले सीमा राखेन। मैले सामाजिक संजालमा एलजिबिटी बारे पोस्ट निरन्तर गरिरह्यो।

बाटोमा हिँड्दा जिस्याइनु सबैभन्दा गाह्रो पल थियो। मान्छेहरू हाँस्थ्यो, अनि पछारिबाट अगारि भागेर कुन्नमा गएर फर्केर एक झलक लिन्थ्यो। म त सडकमा कमेडी पात्र हुन पुग्थ्यो। पासर-बाइ-हरू हाँसेर जान्थ्यो। घृणाको कमेन्टहरू गरेको सुन्थेँ। कति केटाहरूले त मलाई औँला देखाएर, “ल बाजी ठोकम्, कसले त्यो मान्छेको पाइन्टको जिप्पर खोल्दिन सक्छ”, भन्ने जस्तो कुरा नि गर्थ्यो। बाटोमा हिँड्नु त नर्कसरी थियो। जीवनको हरेक पाइला नै काँडा सरी बिझ्न थालेको थियो। केही हदमा यो म आज सम्म पनि भोग्ने गर्छु। कहिलेकाहीँ पिट्दिम् जस्तो रीस पनि उठ्छ।

म गर्वका साथ शीर ठाडो पारी घर तर्फ लम्किन्थे, तर जब आफ्नो घरको सुरक्षित घेरामा पुग्थे त्यो कटुता र तिरस्कारको आँशु फुट्थ्यो।

कन्भिन्स गर्नेक्रम

मेरो मम्मीले मलाई धेरै माया गर्थ्यो र सुरुमा मम्मि नै कन्भिन्स भएको हो। ड्याडी कन्भिन्स हुन समय लाग्यो। सुरुवाती दिनहरूमा ड्याडीसँगा गाह्रो भयो। तर मैले उनीहरूलाई सम्झाउन खासै केइ गरेन। मेरो ड्याडीको तेलर पसल थियो। त्यहाँ आउने कस्टमरहरूसँगको कुराकानीमा यो विषय आउँथ्यो। त्यस्तै कुराकानीले उनीहरू कन्भिन्स भएको हो। मेरो केही छिमेकीहरूले पनि ड्याडीलाई सकरात्मक रूपले सम्झाएको थियो।

मलाई के लाग्छ भन्दा हाम्रो सामाजिक परिवेशमा हुर्केको मेरो मम्मी ड्याडीलाई यो कुराबाट मनमा धक्का महसुस हुनु स्वभाविक थियो। तर आफूले कसरी बुझ्दै गयो र स्वीकार्दै गयो, त्यो महत्वपूर्ण कुरा हो।

मैले मम्मेसँग कुरा गरेर हर्मोन पिल्स सेवन गर्न थालिसकेको थियो। म दिनप्रति दिन मेरो शारीरिक देखावट महिलाजस्तै हुँदै गयो। मैले कक्षा ७ ताका लाञ्छनाको डरले गर्दा अरु केटाहरूको नक्कल गरेको थियो। त्यसले गर्दा नि मैले आफ्नो पहिचान खुलाउँदा गाह्रो पार्यो। मान्छेहरूलाई के लाग्यो भन्दा यो पहिला यस्तो थिएन अहिले यस्तो भएछ।

कक्षा १० पछी

म एस.एल.सी. पछी स्कुलको जेलबाट मुक्त भयो। मैले कपाल पाल्न थाल्यो र आफूलाई जस्तो पहिरन मनपर्थ्यो त्यही लगाउन थाल्यो। हर्मोन पिल्स सेवनले गर्दा म शारीरिक रूपमा पनि सिस् -महिलाजस्तै देखिन थाल्यो। केही ब्वाइफ्रेन्ड नि बन्यो फेसबुकबाट, सफल भएन। यसले नि जीवनमा केही उदासीनता ल्यायो। अनि भूकम्प आयो।

यौनकर्मी भनेर सामान्यकरण गर्ने अनि वस्तुकरण गर्ने

सबै पारलिङ्गी महिलाहरू यौनकर्मी हो भन्ने सामान्यकरण सोचाइका कारण नराम्रो अनुभव रहन थाल्यो। धेरैजसो बाटोमा हिँड्दा, विशेष गरी अलिक रात पर्दा, कोको न पुरुषहरूले ‘कति पैसामा जाने’ भन्ने प्रश्न गर्न आउँछ। सुरुमा त डर लाग्थ्यो अनि भाग्थ्यो। पछी म उनीहरूलाई कराउन थाल्यो। अब त मलाई हेर्न बित्तिकै यो पारलिङ्गी हो भनेर छुट्याउन सक्दैन, त्यसैले खासै पहिले जस्तो हुने गर्दैन। पारलिङ्गी महिलाहरू समान्यतः धेरै वस्तुकरण गरिएको धारणमा देख्छु। यौनिक वा कामुक हुँदैमा अनैतिक हो भन्ने म मान्दैन, तर सबै पारलिङ्गीहरू यौनकर्मी हो भन्ने सामान्यकरण पनि गलत हो।

धेरै जसो फेसबुक च्याटमा ‘म पारलिङ्गी महिला तर्फ आर्कषित छु’ भन्ने पुरुषहरूले दुर्व्यवहार गरिरहेको हुन्छ। कोही छन् राम्ररी नै बोल्नेहरू। यसले धेरैबेला मलाई निराश पनि बना’को छ, अनि माया प्रेम प्रति निराशावादी पनि।

कक्षा ११, १२

मेरो मम्मी ड्याडी र म जिल्ला प्रशासन कार्यालयमा गएर मेरो लैङ्गिक पहिचान अनुसारको नागरिकता लिएँ। मेरो ड्याडीलाई केही समस्या त थिएन तर त्यो बेला पूर्ण रूपले स्वीकारिसकेको पनि थे’न। म लगंख्यः(लगनखेल)को एम्स आकेडेमिमा भर्ना गर्यो मानविकी संकायमा। त्यहाँको प्रिन्सिपललाई मेरो लैङ्गिकता बारे भन्दा एक्दम सकरात्मक व्यवहार गर्यो मलाई कुनै विभेद नहुन आश्वासन दिलायो। मैले +२ पढ्दा कुनै साथीलाई यसको बारेमा भनेन, मलाई डर थियो कि स्कुलमा भएको कुरा फेरी नहोस्।

अहिले

This image has an empty alt attribute; its file name is wowktm.jpg

मेरो जीवनको लक्ष्य भाषाविद बन्नु हो। अहिले एक्टिभिजम् तिर पनि संलग्न छु। अहिले पनि मेरो लागि धेरै कुराहरू परिवर्तन भएको छैन, तर म आफ्नो लागि बोल्न सक्छु र आफ्नो विषय उठाउन सक्छु, सँगै म सित मेरो समर्थनमा मानिसहरू छ, यो नै मेरो बल जस्तो लाग्छ।

2 thoughts on “पारलिङ्गी हुनुको मेरो व्यक्तिगत अनुभव

Leave a Reply

Your email address will not be published. Required fields are marked *