यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे

हाम्रो समाजमा अहिले उठीरहेका विभिन्न मुद्दा मध्ये एक संवेदनशील मुद्दा हो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे। हाम्रो नेपाली समाजमा विगत् केही दशकहरू देखि नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको अभियान थालनि हुँदा पनि समाजमा यसबारे राम्रो जानकारी एकदम थोरैलाई मात्र छ। समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे थुप्रै भ्रम र गलत अवधारणाहरू रहेका छन् जसलाई हटाउन र बुझाउन मैले यस लेख लेखेकी हुँ।

लिङ्यारोटी चित्र

आधारभूत अवधारणा

जैविक लिङ्ग, लैङ्गिकता र यौन अभिमुखिकरण

१) जैविक लिङ्ग(Sex) भनेको के हो?

मानिसको यौन अङ्ग वा प्रजनन अङ्गबाट छुट्टिने आधारलाई जैविक लिङ्ग(Sex or Biological sex) भनिन्छ। उच्च कोटीका प्राणीहरूका कोशाणु(cells)हरूमा डि.एन.ए. र प्रोटिनको संयुक्त संरचना गुणसूत्र(chromosomes) हुने गर्दछ। हरेक कोशाणुमा २३ जोडी गुणसुत्रहरू हुन्छन्। यी २३ जोडी गुणसुत्रहरूमा २३औँ जोडी गुणसुत्रले मानिसको जैविक लिङ्ग निर्धारण गर्दछ। यो कोशाणुमा सुक्ष रूपले रहने गर्दछ भने मानिसको प्रजनन प्रणाली र यौनाङ्गबाट बाह्य रूपमा पनि देखिने गर्दछ। यो एक व्यक्तिको शारीरिक तह हो।

२) लैङ्गिकता(Gender) भनेको के हो?

कुनै व्यक्तिको पुरुषत्व देखि नारीत्वको अनुभवमा हुने भिन्नतालाई लैङ्गिकता(Gender) भनिन्छ। पुरुषत्व र नारीत्वको भाव र अभिव्यक्तिमा हुने फरक र विशेषताहरू लैङ्गिकता हो। यो एक भावनात्मक, मनोवैज्ञानिक वा मानसिक तह हो। आफ्नो लैङ्गिकता अनुरूप व्यक्तिको हाउभाउ, हिँडाइ बढाइ, प्रस्तुत गर्ने ढङ्ग हुने गर्दछ, जसलाई लैङ्गिक प्रस्तुतीकरण(Gender expression) भनिने गरिन्छ। हरेक व्यक्तिले आफ्नो सामाजिक परिवेश र भाषाको आधारमा विभिन्न शब्दको छनोट गरी ‘ म आफू हुँ’ भन्ने अन्तर्भावना नीजले आफ्नो लैङ्गिकताको परिचय दिन वा पहिचान गराउन प्रयोग गर्ने शब्दावलीलाई लैङ्गिक पहिचान (Gender identity) भनिन्छ।

कतिपय समाजशास्त्र पढेका व्यक्तिहरूले लैङ्गिकता (Gender) को फरक परिभाषा पढेका हुन सक्छ। समाजशास्त्रको अध्ययनमा लैङ्गिकतालाई ‘लिङ्गका बीचमा हुने सामाजिक भिन्नता’ भनी परिभाषित गरिएको पाइन्छ। एउटै शब्दको दुई फरक अर्थ लाग्ने अवस्थाहरू हुनाले समाजशास्त्रको लैङ्गिकताको अवधारणा र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आन्दोलनको अवधारणा फरक हुन्। यसलाई जसरी अङ्ग्रेजीमा Cell भन्नाले भौतिक विज्ञानमा ब्याट्री, र जीव विज्ञानमा कोषाणु भनेको जसरी बुझ्न सकिन्छ।

३) यौनिकता(Sexuality) भनेको के हो?

कुनै व्यक्तिको यौन तथा कामुक अनुभव तथा प्रस्तुतीकरणको व्यापक स्प्रेक्ट्रम हो भनेर बुझ्नुपर्छ। यौनिकता व्यक्तिको एउटा विशाल चक्र हो। व्यक्तिलाई कस्तो प्रकारको यौन चाहना छ, व्यक्तिले कस्तो प्रकारको यौन सपना(fantasy) देख्छ, व्यक्तिले आफ्नो यी भावनालाई कसरी प्रस्तुत गर्छ भन्ने जस्ता विविध विषयहरू यसमा समावेश हुन्छ। व्यक्तिले लगाउने लिप्स्टिकको रङ्ग देखि लिएर, हिँड्ने र प्रस्तुत हुने विषयमा पनि यौनिकता समावेश हुन्छ। यदि म बाटोमा हिँड्दै छु र मलाई मन पर्ने मान्छे मैले बाटोमा देखेँ। मैले उसलाई देख्ना साथ मनमा केही भावना उत्पन्न भैइ आफ्नो हिँडाइ अर्कै ढङ्गको गरेँ भने त्यो पनि मेरो यौनिकताको पाटो हो। यौनिकता मानिसको विभिन्न आचरणहरूमा झल्कने गर्दछ। हामी सामान्यतः साथी भाइ सँग हात समातेर हिँड्ने गर्छौँ अरे, तर आफूलाई मन पर्ने कसैले हात समात्यो भने मनमा आउने भावनाहरू पनि यौनिकताको पाटो हो। म सामान्यतः एक खाले गेत-अपमा हुन्छु, तर मलाई डेटिङमा जान अलिकति फरक गेट-अप गर्न मन लाग्छ भने त्यो मन लाग्नु पनि मेरो यौनिकताको एउटा पाटो हो।

४) यौन अभिमुखिकरण(Sexual orientation) भनेको के हो?

कुनै पनि व्यक्ति किशोरावस्थामा पुग्दा उसले अरू व्यक्ति प्रति आकर्षण महसुस गर्छ। यो आकर्षण रोम्यान्टिक, यौनिक, शारीरिक र भावनात्मक हुन्छ। जब हामी १३/१४ वर्ष माथि हुर्कदै जान्छौँ र हाम्रो शरीरमा परिवर्तन आउन थाल्छ, हामीमा आकर्षणको दरो अनुभूति पनि सुरु हुन थाल्छ, जो हाम्रो आफन्त वा साथी-भाइ प्रतिको मायाका अनुभूति भन्दा फरक र सशक्त हुने गर्दछ। यिनै शसक्त यौन आकर्षणका अनुभूतिहरूले हामीमा शारीरिक सम्बन्ध राख्ने इच्छा पनि जगाउँछ। यस सँगै कुन व्यक्ति कुन लैङ्गिक पहिचान राख्ने व्यक्ति सँग आकर्षित हुन्छ भन्ने विषय उसको यौन अभिमुखिकरण हो। यौन अभिमुखिकरण भनेको यौनिकताको एउटा पाटो हो। यौनिकताको विशाल सागरमा यौन अभिमुखिकरण एउटा द्विप हो। कुनै व्यक्ति, कुन लिङ्गको व्यक्ति तर्फ आकर्षित छ भन्ने विषय यौन अभिमुखिकरण हो।

जैविक लिङ्ग, लैङ्गिकता र यौन अभिमुखिकरण, कुनै व्यक्तिको नितान्त तीन समानान्तर विषयहरू हुन्।

जैविक लिङ्ग (Biological sex)

तस्वीर : BioNinja

पुलिङ्गी (Male sex)

जो व्यक्तिहरूको पुलिङ्गी प्रजनन प्रणाली हुन्छ, बाह्य यौनाङ्ग लिङ्गो हुन्छ र २३औँ गूणसूत्र XY हुने गर्दछ, उनीहरू पुलिङ्गी हुन्।

तस्वीर: ThingLink

स्त्रीलिङ्गी(Female sex)



जो व्यक्तिहरूको स्त्रीलिङ्गी प्रजनन प्रणाली हुन्छ, बाह्य यौनाङ्ग योनी हुन्छ र २३औँ गूणसूत्र XX हुने गर्दछ, उनीहरू स्त्रीलिङ्गी हुन्।

अन्तर्लिङ्गी (Intersex)

केही अन्तर्लिङ्गी यौनाङ्ग, तस्वीर: http://imgcop.com/

कुनै पनि व्यक्ति जसको यौनाङ्ग वा/तथा प्रजनन प्रणालीका अङ्गहरू पूर्ण रूपमा पुलिङ्गी वा पूर्ण रूपमा स्त्रीलिङ्गी भनेर छुट्याउन सकिँदैन, उनीहरूलाई अन्तर्लिङ्गी व्यक्ति भनिन्छ। अन्तर्लिङ्गी आफैमा एउटा छाता शब्द हो। यस्ता थुपै प्रकारका लिङ्गहरू छन् जुन पूर्ण रूपले पुलिङ्गी वा पूर्ण रूपले स्त्रीलिङ्गी हुँदैन। जस्तै कुनै व्यक्तिको यौनाङ्ग हुने स्थानमा माथी लिङ्गो र त्यसैको तल तिर योनी छ भने ऊ एक प्रकारको अन्तर्लिङ्गी व्यक्ति हो। जस्तै कुनै व्यक्तिको बाह्य अङ्ग योनी छ तर योनीको भित्री द्वारमा अण्डकोष लुकिएको छ भने ऊ एक प्रकारको अन्तर्लिङ्गी व्यक्ति हो। जस्तै कुनै व्यक्तिमा बाह्य अङ्ग लिङ्गो छ तर उसको भित्र पाठेर पनि छ, भने ऊ एक प्रकारको अन्तर्लिङ्गी व्यक्ति हो। यसरी अन्तर्लिङ्गी व्यक्तिहरूको थुप्रै विविधता हुन्छ। अन्तर्लिङ्गी व्यक्तिहरूको २३औँ गुणसुत्र भने XXY, XO, XYY, XXYY, XXXY, XY/XO, XX/XO, XX/XY, इत्यादी प्रकारको हुने गर्दछ।

बाह्य अङ्ग पुलिङ्गी, आन्तरिक अङ्ग स्त्रीलिङ्गी भएको अन्तर्लिङ्गी व्यक्ति, तस्वीर : Daily Mail

जैविक लिङ्ग केवल शारिरिक हो,
जैविक लिङ्ग यो भएका कारण यही प्रकारको लैङ्गिकता हुने होइन
जैविक लिङ्ग यो भएका कारण यही लिङ्गका व्यक्ति तर्फ आकर्षित हुने होइन।

लैङ्गिकता (Gender)

लैङ्गिकता स्पेक्ट्रम, तस्वीर : aminoapps.com

त्याचलिङ्गी (Cisgender) :
ती व्यक्तिहरू जो आफ्नो जैविक लिङ्गसँग मेल खाने लैङ्गिक पहिचान राख्छन्

त्याचलिङ्गी पुरुष (Cisgender man, cisman) :
जो व्यक्ति जन्मँदा पुलिङ्गी इङ्गित गरिएको हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन्

त्याचलिङ्गी महिला (Cisgender woman, ciswoman) :
जो व्यक्ति जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएको हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन्

पारलिङ्गी (Transgender) :
जो व्यक्तिहरू आफ्नो जैविक लिङ्ग भन्दा फरक लैङ्गिक पहिचान राख्दछन्, शारीरिक रूपले पुलिङ्गी, स्त्रीलिङ्गी वा अन्तर्लिङ्गी भएर लैङ्गिक पहिचान भने सो भन्दा भिन्न वा सो सँग मेल नखाने

पारलिङ्गी महिला(Transgender woman) :
जो व्यक्ति जन्मँदा पुलिङ्गी इङ्गित गरिएको हुन्छ र मानसिक, व्यवहारिक तथा स्वभाविक रूपले महिला हुन्छन्, आफूलाई महिला भनेर पहिचान गराउँछन्, ती हुन् पारलिङ्गी महिला(Transgender woman)। शारिरिक रूपले पुलिङ्गी भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा सोही अनुरूप हुन्छ। मात्र महिलाको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी गैर-शल्यक्रियी पारलिङ्गी महिला (Non-operative transwoman) भन्दछौँ। अब धेरै पारलिङ्गी महिलाहरूले हर्मोन पिल्स सेवन गर्छन्। यसबाट व्यक्तिले स्त्रीलिङ्गी हर्मोन इस्ट्रोजन र प्रोजेस्टेरोन पिल्स खाने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा स्त्रीलिङ्गी शारीरिक बनोट आउँछ। जस्तै स्तन बढ्ने, छाला नरम हुने, रौं हराउँदै जाने, इत्यादि। यी परिवर्तनहरू व्यक्तिगत रूपमा भिन्न हुने गर्दछन्। अनि हेर्दा खेरी त्याचलिङ्गी महिला जस्तै देख्न थाल्छन्। यसलाई हामी पुदेस्त्री हर्मोन प्रतिस्थापन प्रकृया (Male-to-female hormone replacement therapy) भन्छौँ। जब उनीहरू त्याचलिङ्गी महिला जस्तै देखिन थाल्छन्, तर यौनाङ्ग भने शल्यक्रिया गरिएको हुँदैन, यो अवस्थालाई हामी पूर्व-शल्यक्रियी पारलिङ्गी महिला (Pre-operative transwoman) भन्छौँ। र यदि उनीहरू यौनाङ्ग परिवर्तन शल्यक्रिया गर्छन् भने शल्यक्रियी पारलिङ्गी महिला (Post-operative transwoman) भन्छौँ।

पारलिङ्गी पुरुष(Transgender man) :
जो व्यक्ति जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएको हुन् र मानसिक, व्यवहारिक तथा स्वभाविक रूपले पुरुष हुन्छन्, आफूलाई पुरुष भनेर पहिचान गराउँछन्, ती हुन् पारलिङ्गी पुरुष(Transgender man)। शारिरिक रूपले स्त्रीलिङ्गी भनेपछि उनीहरू देखिने वा शारीरिक ढाँचा सोही अनुरूप हुन्छ। मात्र पुरुषको व्यवहार र स्वभाव हुन्छ। जस्तै हिँडाइ, बोलाइ र रहनसहनका ममिलाहरूमा। यो उनीहरूको प्राकृतिक अवस्था हो जस्लाई हामी गैर-शल्यक्रियी पारलिङ्गी पुरुष (Non-operative transman) भन्दछौँ। अब धेरै पारलिङ्गी पुरुषहरूले हर्मोन पिल्स सेवन गर्छन्। यसबाट व्यक्तिले पुलिङ्गी हर्मोन टेस्टेस्टेरोन पिल्स खाने वा सुइमा लिने गर्दछन्। यसले गर्दा केही वर्षहरूमा उनीहरूमा पुलिङ्गी शारीरिक बनोट आउँछ। जस्तै स्तन घट्ने, छाला खस्रो साह्रो हुने, रौं पलाउँदै जाने, इत्यादि। यी परिवर्तनहरू व्यक्तिगत रूपमा भिन्न हुने गर्दछन्। अनि हेर्दा खेरी त्याचलिङ्गी पुरुष जस्तै देख्न थाल्छन्। यसलाई हामी स्त्रीदेपु हर्मोन प्रतिस्थापन प्रकृया (Female-to-male hormone replacement therapy) भन्छौँ। जब उनीहरू त्याचलिङ्गी पुरुष जस्तै देखिन थाल्छन्, तर यौनाङ्ग भने शल्यक्रिया गरिएको हुँदैन, यो अवस्थालाई हामी पूर्व-शल्यक्रियी पारलिङ्गी पुरुष (Pre-operative transman) भन्छौँ। र यदि उनीहरू यौनाङ्ग परिवर्तन शल्यक्रिया गर्छन् भने शल्यक्रियी पारलिङ्गी पुरुष (Post-operative transman) भन्छौँ।

अलिङ्गी (Agender):
अलिङ्गी भनेका ती व्यक्ति हुन् जो आफूलाई न पुरुष भएको अनुभव गर्छन् न महिला भएको। उनीहरू आफुलाई पुरुष पनि होइन महिला पनि होइन भनेर चिनाउँछन्।

दुईलिङ्गी (Bigender) :
दुईलिङ्गी भनेका ती व्यक्ति हुन् जो आफूलाई दुबै पुरुष र महिला ठान्दछन्। उनीहरू कहिले पुरुष स्वभवका भने कहिले महिला स्वभावका हुन्छन्।

मिश्रितलिङ्गी (Androgyne) :
मिश्रितलिङ्गी भनेका ती व्यक्ति हुन् जसको स्वभाव दुबै पुरुष र महिलाको मिश्रित हुन्छ। महिला र पुरुष दुबैको मिश्रित भावना हुने व्यक्तिहरू मिश्रितलिङ्गी हुन्।

द्रवलिङ्गी (Gender Fluid) :
द्रवलिङ्गी भनेका ती व्यक्ति हुन् स्वभाव पुरुषत्व देखि नारीत्वबीच झुलि रहन्छ। जस्तै कहिले उनीहरू एकदम पुरुष जस्तै व्यवहार देखाउँछन्। कहिले एकदम महिला जस्तै व्यवहार देखाँछन्। कहिले ती पुरुषत्व र नारीत्वको बीचमा हुन्छ। उनीहरूको लैङ्गिकता तरल हुने गर्दछ।

दुईलिङ्गी, मिश्रितलिङ्गी र द्रवलिङ्गी सुन्दा उस्तै अर्थ लाग्ने भएतापनि, यिनमा फरक छ। दुईलिङ्गीहरू पुरुषत्व र नारीत्वको दुई पहलूमा एउटामा एक पटक हुने गर्दछन्। जस्तै पुरुष जस्तै हुने बेला पुरुष जस्तै, महिला जस्तै हुने बेला महिला जस्तै। मिश्रितलिङ्गीहरूमा भने यो भेद हुँदैन। पुरुष र महिलाको भावना मिश्रित ढङ्गले दुधमा पानी मिसिएकोझैँ हुने गर्दछ। यसै गरी द्रवलिङ्गीहरूको कुनै लैङ्गिकताको स्थिरबिन्द्रु हुँदैन। मानिलिऔँ पुरुषत्व दक्षिणी ध्रुव र नारीत्व उत्तरी ध्रुव हो भने, उनीहरू यही दुई ध्रुवका बीचमा जहाँ पनि हुन सक्छन्। कहिले ध्रुवको चरम बिन्दुहरूमा होलान्, कहिले अलिकति पुरुषत्व नजिकै र नारीत्वबाट ताढा होलान्। कहिले बीचमा होलान्। कहिले ७०% एउटामा २०% अर्कोमा होलान्। यो लैङ्गिकताको तरल प्रवृत्ति हुने गर्दछ।

गैरानुरूपलिङ्गी (Gender non-conforming) :
कुनै व्यक्ति आफूलाई लैङ्गिकताको कुनै परिभाषा अनुरूप ठान्दैन, पुरुषत्व र नारीत्वको परम्परागत परिभाषा अनुसार आफ्नो लैङ्गिक प्रस्तुतीकरण नअटाउने व्यक्तिहरू गैरानुरूपलिङ्गी हुन्।

विषुलिङ्गी (Transsexual) :
आफ्नो जैविक लिङ्ग भन्दा विपरीत लिङ्गको हुँ ठान्ने व्यक्तिहरू, जो आफ्नो शरीरमा सहज मसुस गर्दैनन् र आफ्नो यौनाङ्ग परिवर्तन गर्ने तीव्र भावना राख्छन्। उनीहरूमा लैङ्गिक वरिक्तता (Gender dysphoria) हुने गर्दछ। कुनै पुलिङ्गी शरीर भएको मानिस जो आफ्नो यौनाङ्गमा सहज महसुस गर्दैन र आफ्नो यौनाङ्ग स्त्रीलिङ्गी बनाउने तीव्र चाहना राख्छन्, उनीहरू विषुलिङ्गी महिला (Transsexual women) हुन् भने कुनै स्त्रीलिङ्गी शरीर भएको मानिस जो आफ्नो यौनाङ्गमा सहज महसुस गर्दैन र आफ्नो यौनाङ्ग पुलिङ्गी बनाउने तीव्र चाहना राख्छन्, उनीहरू विषुलिङ्गी पुरुष (Transsexual men)। पारलिङ्गी (Transgender) र विषुलिङ्गी (Transsexual)मा के फरक छ भन्दा पारलिङ्गीहरू आफ्नो जैविक लिङ्ग भन्दा फरक अनुभव गरेतापनि जरूरी रूपमा आफ्नो यौनाङ्ग परिवर्तन गर्ने तीव्र चाहना राख्दैनन्, भने विषुलिङ्गीहरू यो तीव्र चाहना राख्छन्।

विषुपहिरणी (Transvestites) :
आफ्नो लैङ्गिकता भन्दा विपरीत लैङ्गिकताले लगाउने वस्त्र र पहिनाईमा प्रस्तुत हुने व्यक्ति। विषुलिङ्गी र पारलिङ्गी जस्तै विषुपहिरणी आफूलाई आफ्नो विपरीतको लिङ्ग भन्ने ठान्दैनन्। तर आफू विपरीत लैङ्गिकता भएका व्यक्तिहरूले लगाउने भनिएको पोशाक र पहिरन लगाउन रुचाउँछन् वा महसुस गर्छन्। उनीहरूको लैङ्गिकता वस्त्रले अभिव्यक्ति हुने गर्दछ।

केथालिङ्गी (Gender questioning) :
यो कुनै लैङ्गिक पहिचान भन्दा पनि एउटा शब्दवाली हो जसले आफ्नो लैङ्गिकता बारे अझै एक्स्प्लोर गरी रहेका व्यक्तिहरूले प्रयोग गर्छन्। अर्थात् लैङ्गिकताको विविधतामा ‘म को हुँ’ भन्ने जिज्ञासा अझै रहेका र आफ्नो बारेमा अझै जान्ने प्रयास गर्दै गरेका र ‘म यही हुँ है’ भनेर दाबी नगरेका व्यक्तिहरूले यस शब्दावलीको प्रयोग गर्दछन्।

गैर द्वयसांखिक लैङ्गिक पहिचान(Non-binary gender identities) :
परम्पगारत रूपमा मूलधारका अधिकांश समाजहरूले दुईवटा लिङ्गको परिभाषा मात्र बुझाएको हुन्छ। यी दुई परिभाषाहरूमा नअटाउने अरू सबै लैङ्गिक पहिचानहरूलाई समेट्ने एउटा छाता शब्दका रूपमा गैर- द्वयसांखिक लैङ्गिक पहिचान(Non-binary gender identities) भनिने गरिन्छ। गैर-द्वयसांखिक लैङ्गिक पहिचान नभनेर ‘क्वयेरलिङ्गी’ (Genderqueer) पनि भनिने गरिन्छ।

त्याचान्तर्लिङ्गी(Ipso Gender):
कुनै अन्तर्लिङ्गी व्यक्तिले आफ्नो लैङ्गिक पहिचान पुलिङ्गी वा स्त्रीलिङ्गी जस्तै पहिचान गर्न नमिल्ने र आफ्नो जैविक लिङ्ग नै आफ्नो लैङ्गिकता पनि हो, भन्नेहरूलाई त्याचान्तर्लिङ्गी भनिन्छ।
Intersex identifying intersex people

अर्धलिङ्गी(Demigender):
ती व्यक्तिहरू जो आधि रूपमा एउटा लैङ्गिकता सँग सम्बन्ध राख्छन्, र आधि रूपमा भने तरल लैङ्गिकताका हुन्छन्
अर्धमहिला(Demiwoman) : आधि रूपमा महिलाको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई महिलाकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति
अर्धपुरुष(Demiman) : आधि रूपमा पुरुषको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई पुरुषकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति

तेस्रोलिङ्गी (Third gender) :
सबै समाजमा लैङ्गिकताको परिभाषा र अवधारणा एकै नाशको हुँदैन। फेरी कुनै समाजमा एक प्रकारको लैङ्गिकता बारे अवधारणा छ भन्दैमा त्यही नै सबथोक वा त्यही नै पर्याप्त छ भन्ने हुँदैन। त्यही समाजका परिभाषाहरूमा नअटाउने व्यक्तिहरूले आफ्नै पहिचान खोज्न सुरु गर्छ। उदाहरणका लागि मूलधारको सेतो वर्णका ख्रिष्ट्रियन औपनिवेशिक युरोपेली समाजमा दुईवटा लैङ्गिकताको मात्र परिभाषा थियो। त्यही समाजमा ती परिभाषामा नअटाउनेहरूले आफ्नै पहिचानको स्थापना गरे। औपनिवेशिक कालमा त्यो दुईवटा लिङ्गको अवधारणा अन्यत्र पनि लादियो। भारतीय समाजमा हिज्रा, ख्वाजासिरा, किन्नर, इत्यादी जस्ता लैङ्गिकताहरूको अवधारणा थियो। बेलायती उपनिवेशमा त्यसमाथी पनि दमन भयो। यसै गरी नेटिभ अमेरिकन समाजमा पाँचवटा लैङ्गिकताको अवधारणा छ। अष्ट्रेलियाको अबोरिजिनलहरूमा पनि यस्तै नै छ। फिजिमा भाकासालेवालेवा, सामोआमा फाफाफिने, फिलिपीन्समा बाक्ला, जस्ता अवधारणाहरू छन्।
यसै गरी नेपालमा विशेष गरी पर्वते कुरा गर्ने खस-आर्य समुदायहरूमा तेस्रोलिङ्गीको अवधारणा छ। आफूलाई महिला र पुरुषको परिभाषाबाट छुट्टै राख्ने, आफू महिला पनि होइन पुरुष पनि होइन, महिला पुरुष भन्दा फरक पहिचान बोक्नेहरूलाई ‘तेस्रोलिङ्गी’ भन्ने गरिन्छ। यस्ता शब्दवालीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ‘सांस्कृतिक अवधारणाका लैङ्गिक पहिचानहरू’ (Cultural gender identities) भन्ने गरिएको छ। नेपालको सन्दर्भमा खस-आर्य समुदायको वर्चस्व रहेकाले, अनि नेपालको मूलधारमा वर्चस्व रहेको र ३०० वर्ष देखि एक मात्र औपचारिक कामकाजी भाषा भएकाले ‘तेस्रोलिङ्गी’ शब्द बढी प्रचलनमा देखिन्छ।

सांस्कृतिक अवधारणाका लैङ्गिक पहिचानहरू:

सबै समाजमा लैङ्गिकताको परिभाषा र अवधारणा एकै नाशको हुँदैन। फेरी कुनै समाजमा एक प्रकारको लैङ्गिकता बारे अवधारणा छ भन्दैमा त्यही नै सबथोक वा त्यही नै पर्याप्त छ भन्ने हुँदैन। त्यही समाजका परिभाषाहरूमा नअटाउने व्यक्तिहरूले आफ्नै पहिचान खोज्न सुरु गर्छ। उदाहरणका लागि मूलधारको सेतो वर्णका ख्रिष्ट्रियन औपनिवेशिक युरोपेली समाजमा दुईवटा लैङ्गिकताको मात्र परिभाषा थियो। त्यही समाजमा ती परिभाषामा नअटाउनेहरूले आफ्नै पहिचानको स्थापना गरे। औपनिवेशिक कालमा त्यो दुईवटा लिङ्गको अवधारणा अन्यत्र पनि लादियो। भारतीय समाजमा हिज्रा, ख्वाजासिरा, किन्नर, इत्यादी जस्ता लैङ्गिकताहरूको अवधारणा थियो। बेलायती उपनिवेशमा त्यसमाथी पनि दमन भयो। यसै गरी नेटिभ अमेरिकन समाजमा पाँचवटा लैङ्गिकताको अवधारणा छ। अष्ट्रेलियाको अबोरिजिनलहरूमा पनि यस्तै नै छ। फिजिमा भाकासालेवालेवा, सामोआमा फाफाफिने, फिलिपीन्समा बाक्ला, जस्ता अवधारणाहरू छन्। यसै गरी नेपालमा विशेष गरी पर्वते कुरा गर्ने खस-आर्य समुदायहरूमा तेस्रोलिङ्गीको अवधारणा छ। आफूलाई महिला र पुरुषको परिभाषाबाट छुट्टै राख्ने, आफू महिला पनि होइन पुरुष पनि होइन, महिला पुरुष भन्दा फरक पहिचान बोक्नेहरूलाई ‘तेस्रोलिङ्गी’ भन्ने गरिन्छ। यस्ता शब्दवालीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ‘सांस्कृतिक अवधारणाका लैङ्गिक पहिचानहरू’ (Cultural gender identities) भन्ने गरिएको छ ।

नेपालको विविध समुदायहरूमा आफ्नै सांस्कृतिक अवधारणाका लैङ्गिक पहिचानहरू छन्। नेपालको सबै विविधतामा कस्ता शब्दको प्रयोग गरिन्छ र के त्यो पर्याप्त छ भन्ने विषयमा अनुसन्धान र डिर्कोस भएको छैन। नेवाः समाजमा ‘मैंबाबु’को अवधारणा छ। यसै गरी ‘बामिसा’, ‘मामिजं’, ‘मिथु’, ‘मिखे’ जस्ता शब्दवालीहरू पनि छन्। नेपालभाषामा परम्परागत रूपले महिला वा पुरुषको परिभाषामा नपर्नेहरूलाई ‘मैंबाबु भन्ने गरिन्छ। यसै गरी शारीरिक रूपले पुलिङ्गी र आफूलाई महिला भनेर चिनाउनेहरूलाई ‘बामिसा’, शारीरिक रूपले स्त्रीलिङ्गी र आफूलाई पुरुष भनेर चिनाउनेहरूलाई ‘मामिजं’, महिला र पुरुष दुबैको बीचमा चिनाउनेलाई ‘मिथु’, महिला र पुरुष भन्दा फरक र पर राखेर चिनाउनेलाई ‘मिखे’ भन्ने गरिन्छ। यसै गरी नेपालभाषामा अङ्ग्रेजी भाषाकै अर्थ लाग्ने लैङ्गिक पहिचानका शब्दहरू पनि बनिसकेका छन्।

पूर्वी नेपालको हिमाली समुदायहरूमा ‘फुलुमुलु’ र पश्चिमी नेपालको हिमाली समुदाय जस्तै डोल्पो ल्होवा समुदायहरूमा ‘फोलोक मोलोक’ भन्ने गरिन्छ। कतिपय समाजहरूमा ‘हिजडा’ भनेर हिच्याएर बोलाउने गरे पनि मधेसी समुदायहरूमा ‘हिजडा’, ‘हिज्रा’ वा ‘कोथी’ भनेर चिनाउने गरिन्छ र मर्यादित शब्दकै रूपमा पनि लिइन्छ। नेपालमा विशेष गरी पर्वते कुरा गर्ने खस-आर्य समुदायहरूमा तेस्रोलिङ्गीको अवधारणा छ। आफूलाई महिला र पुरुषको परिभाषाबाट छुट्टै राख्ने, आफू महिला पनि होइन पुरुष पनि होइन, महिला पुरुष भन्दा फरक पहिचान बोक्नेहरूलाई ‘तेस्रोलिङ्गी’ भन्ने गरिन्छ। यसै गरी ‘मेटी’ अथवा ‘मेट्टी’ भनेर पारलिङ्गी महिलाहरूलाई पनि जनाउने गरिन्छ भने ‘मेटा] अथवा ‘मेट्टा’ भनेर पारलिङ्गी पुरुषहरूलाई जनाउने गरिन्छ।

अन्य देशहरूको उदाहरण हेर्दा इन्दोनिशियाको सुलावेशी द्वीपको बुग्गि जातीय समाजमा ५ वटा लैङ्गिकता रहेको छ: १) ओरोआनी (oroani) अर्थात् त्याचलिङ्गी पुरुष; २) मक्कुन्राइ (makkunrai)अर्थात् त्याचलिङ्गी महिला; ३) कललाइ (calalai) अर्थात् पारलिङ्गी पुरुष; ४) कलबाइ (calabai) अर्थात् पारलिङ्गी महिला; ५) बिस्सु (bissu) अर्थात् अन्तर्लिङ्गी। फिजीमा ‘भाकासालेवालेवा’; टोङ्गा राज्यमा ‘लेइटी’, सामोआ राज्यमा ‘फाफाफिने’, हवाईमा ‘माहु’ र पपुआ न्यू गिनीमा ‘पालोपा’ भन्ने अवधारणाहरू छन्।

विश्वभरी उपनिवेशका क्रममा श्वेत युरोपेली ख्रिष्टियान उपनिवेशी शक्तिले आफ्नो लैङ्गिक पहिचानको अवधारणा पनि लादेका थिए। यसरी उपनिवेश हटेपछी पाश्चात्य शब्दावलीमा पहिचान गराउन नचाहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आदिवासी जनजातीहरूले आफ्नै समाजको आफ्नै सांस्कृतिक परिवेशका लैङ्गिक विविधतालाई पुनःउत्थान गराएका छन्। उपनिवेश अगाडी विभिन्न आदिवासी जनजाती समुदाय लैङ्गिकताको मामिलामा उदार थिए भने उपनिवेश पछी श्वेत युरोपेली ख्रिष्टियान मान्यता अनुसार दुई वटा मात्र लिङ्ग हुने जस्तो संकीर्ण धारणा लादियो। लैङ्गिकताको सवालमा मात्र नभएर समान लिङ्ग बीचको यौनाकर्षलाई स्वीकार गर्ने समाजहरूमा पनि विपरीत लिङ्ग बीचको सम्बन्ध मात्र जायज हो अरु सबै पाप हो भन्ने अवधारणा लादिएको थियो। कतिपय आदिवासी जनजाती समुदायहरूको परम्परागत लैङ्गिक पहिचानका अवधारणा नामेट भैसकेतापनि पाश्चात्य शब्दवाली प्रयोग नगरी आफ्नै भाषामा आफ्नै सांस्कृतिक परिवेशको लैङ्गिकता जनाउने शब्दहरू निर्माण गरेर प्रचार गर्दै आएका छन्।

लैङ्गिकता केवल भावनात्मक, मानसिक, मनोवैज्ञानिक हो,
लैङ्गिक्ता यो भएका कारण यही प्रकारको जैविक लिङ्ग हुने होइन
लैङ्गिकता यो भएका कारण यही लैङ्गिकताका व्यक्ति तर्फ आकर्षित हुने होइन।

यौन अभिमुखिकरण (Sexual Orientation)

यौन अभिमुखिकरणको स्प्रेक्ट्रम, तस्वीर : Google Sites

विषमयौनिक (Heterosexual, Straight) :
आफू भन्दा विपरीतको लैङ्गिकता भएका व्यक्तितर्फ आकर्षित हुने व्यक्तिहरू विषमयौनिक व्यक्तिहरू हुन्

विषमयौनिक पुरुष (Heterosexual man) : कुनै पुरुष जो महिला तर्फ आकर्षित हुन्छन्
– त्याचलिङ्गी पुरुष – त्याचलिङ्गी महिला (Cisman – Ciswoman)
– त्याचलिङ्गी पुरुष – पारलिङ्गी महिला (Cisman – Transwoman)
– पारलिङ्गी पुरुष – पारलिङ्गी महिला (Transman – Transwoman)
– पारलिङ्गी पुरुष – त्याचलिङ्गी महिला (Transman – Ciswoman)

विषमयौनिक महिला (Heterosexual woman) : कुनै महिला जो पुरुष तर्फ आकर्षित हुन्छन्
– त्याचलिङ्गी महिला – त्याचलिङ्गी पुरुष (Ciswoman – Cisman)
– त्याचलिङ्गी महिला – पारलिङ्गी पुरुष (Ciswoman – Transman)
– पारलिङ्गी महिला – पारलिङ्गी पुरुष (Transwoman – Transman)
– पारलिङ्गी महिला – त्याचलिङ्गी पुरुष (Transwoman – Cisman)

समयौनिक (Homosexual) :
आफू भन्दा समान लैङ्गिकता भएका व्यक्तितर्फ आकर्षित हुने व्यक्तिहरू समयौनिक व्यक्तिहरू हुन्

समयौनिक पुरुष (Homosexual man, Gay) : कुनै पुरुष जो पुरुष तर्फ आकर्षित हुन्छन्
– त्याचलिङ्गी पुरुष – त्याचलिङ्गी पुरुष (Cisman – Cisman)
– त्याचलिङ्गी पुरुष – पारलिङ्गी पुरुष (Cisman – Transman)
– पारलिङ्गी पुरुष – पारलिङ्गी पुरुष (Transman – Transman)

समयौनिक महिला (Homosexual woman, Lesbian) : कुनै महिला जो महिला तर्फ आकर्षित हुन्छन्
– त्याचलिङ्गी महिला – त्याचलिङ्गी महिला (Ciswoman – Ciswoman)
– त्याचलिङ्गी महिला – पारलिङ्गी महिला (Ciswoman – Transwoman)
– पारलिङ्गी महिला – पारलिङ्गी महिला (Transwoman – Transwoman)

द्वयौनिक (Bisexual) :
आफू भन्दा समान लैङ्गिकता भएका र आफू भन्दा विपरीत लैङ्गिकता दुबैतर्फ आकर्षित हुने व्यक्तिहरू द्वयौनिक व्यक्तिहरू हुन्
द्वयौनिक पुरुष (Bisexual man) : कुनै पुरुष जो पुरुष र महिला दुबै तर्फ आकर्षित हुन्छन्
द्वयौनिक महिला (Bisexual woman) : कुनै महिला जो पुरुष र महिला दुबै तर्फ आकर्षित हुन्छन्

सर्वयौनिक (Pansexual)
सबै प्रकारका लैङ्गिकता भएका व्यक्ति तर्फ आकर्षित हुनेहरू अथवा आकर्षित हुनका लागि लैङ्गिकता महत्वपूर्ण नरहेको व्यक्तिहरू सर्वयौनिक व्यक्तिहरू हुन्

बहुयौनिक (Polysexual) :
कुनै दुई वा दुई भन्दा बढी लैङ्गिक पहिचानका व्यक्तिहरू तर्फ आकर्षण भएका व्यक्तिहरू। पारिभाषिक रूपमा द्वयौनिकता पनि बहुयौनिकताको एउटा पाटो हो। दुई वा दुई भन्दा बढी तर सबै होइन, त्यसरी आकर्षण अनुभव गर्ने व्यक्तिहरू बहुयौनिक व्यक्तिहरू हुन्।

द्रवयौनिक (Sexual Fluid)
यौन अभिमुखिकरण एवं यौनिकताका मामिलामा तरल भावना भएका व्यक्तिहरू द्रवयौनिक व्यक्तिहरू हुन्। कुनै एउटा निश्चित लैङ्गिकता तर्फ मात्र आकर्षित नहुने तर यो भावना तरल रहने, कहिले कुनै लैङ्गिकता(हरू) तर्फ आकर्षित भए कहिले कुनै लैङ्गिकता(हरू) तर्फ हुने, तरल स्वभावका व्यक्तिहरू हुन्।

विषमयौनिक, समयौनिक, द्वयौनिक भन्दा ‘मेरो लैङ्गिकता के हो र म कुन लैङ्गिकताका व्यक्ति तर्फ आकर्षित छु भनेर दर्शाउने’ शब्दवालीहरू हुन्, तर यी शब्दाका सट्टामा अरु शब्दहरू पनि प्रयोग गर्न सकिन्छ। विशेष गरी गैर-द्वयसांखिक लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई यी ३ शब्दहरूले नसमेटेको गुनासो सहित यी शब्दहरू आएका हुन्।

पुरुष्याउनिक (Androsexual):
पुरुष तर्फ आकर्षित व्यक्ति।

महिल्याउनिक (Gynesexual)
महिला तर्फ आकर्षित व्यक्ति।

गैरद्वयसांख्याउनिक (Skoiliosexual / Ceterosexual) :
गैर-द्वयसांखिक लैङ्गिक पहिचान भएका व्यक्तिहरू तर्फ आकर्षित हुने व्यक्तिहरू गैरद्वयसांख्याउनिक हुन्

पारलिङ्यौनिक (Trans-attracted) :
पारलिङ्गी व्यक्तिहरू तर्फ आकर्षित हुने व्यक्तिहरूलाई पारलिङ्यौनिक व्यक्तिहरू भनिन्छ

पारलिङ्यौनिक विषमपुरुष (Trans-attracted hetero-man) : पारलिङ्गी महिला तर्फ आकर्षित हुने पुरुष (विषमयौनिक पुरुष)
पारलिङ्यौनिक समपुरुष (Trans-attracted homo-man) : पारलिङ्गी पुरुष तर्फ आकर्षित हुने पुरुष (समयौनिक पुरुष)
पारलिङ्यौनिक विषममहिला (Trans-attracted hetero-woman) : पारलिङ्गी पुरुष तर्फ आकर्षित हुने महिला (विषमयौनिक महिला)
पारलिङ्यौनिक सममहिला (Trans-attracted homo-man) : पारलिङ्गी महिला तर्फ आकर्षित हुने महिला (समयौनिक पुरुष)
पारलिङ्यौनिक पारलिङ्गी (Trans-attracted transgender) : पारलिङ्गी व्यक्ति तर्फ आकर्षित हुने पारलिङ्गी व्यक्ति

केथ्याउनिक (Sexual Questioning) :
यो कुनै यौन अभिमुखिकरण भन्दा पनि एउटा शब्दवाली हो जसले आफ्नो यौन अभिमुखिकरण बारे अझै एक्स्प्लोर गरी रहेका व्यक्तिहरूले प्रयोग गर्छन्। अर्थात् यौन अभिमुखिकरणको विविधतामा ‘म को हुँ’ भन्ने जिज्ञासा अझै रहेका र आफ्नो बारेमा अझै जान्ने प्रयास गर्दै गरेका र ‘म यही हुँ है’ भनेर दाबी नगरेका व्यक्तिहरूले यस शब्दावलीको प्रयोग गर्दछन्।

अयौनिक (Asexual)
ती व्यक्तिहरू जो कुनै प्रकारका यौन आकर्षण महसुस गर्दैनन्, कुनै प्रकारको यौन चाहना हुँदैन वा अतिन्यून हुन्छ, ती व्यक्तिहरू अयौनिक व्यक्तिहरू हुन्। यसलाई ‘यौनिक-शून्य’ पनि भनिने गरिन्छ। ती व्यक्तिहरू कोही तर्फ यौनिक रूपमा आकर्षित हुँदैनन्। अयौनिक व्यक्तिहरूले यौन आकर्षण वा यौन चाहना बिना नै प्रणयात्मक भावना महसुस गर्न सक्छन्। प्रणयात्मक (romantic) भावना रहन सके पनि यौन सम्पर्क गर्ने भावना हुँदैन, प्लैटनिक माया मात्र हुने गर्दछ।
क) यौन सकरात्मक अयौनिक (Sex-positive asexuals) :
यौन भनेको अयौनिक बाहेकका लागि मानवीय चाहना भएको कुरा भएको र आफूलाई भने यौन सम्पर्क घिन लाग्दो महसुस हुने व्यक्तिहरू
ख) अर्धप्रणयात्मक अयौनिक (Demiromantic asexual) :
भावनात्मक सम्बन्ध प्रगाढतामा प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू
ग) अप्रणयात्मक अयौनिक (Aromantic asexual) :
कुनै प्रकारको प्रणयात्मक भावना पनि नहुने, प्रणयात्मक भावना शून्य अयौनिक व्यक्तिहरू
घ) विषमप्रणयात्मक अयौनिक (Heteroromantic asexual) :
विपरीत लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू
ङ) सममप्रणयात्मक अयौनिक (Homoromantic asexual) :
समान लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू
च) द्वप्रणयात्मक अयौनिक (Biromantic asexual) :
दुईटा लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू
छ) सर्वप्रणयात्मक अयौनिक (Panromantic asexual) :
सबै प्रकारका लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

खैर्याउनिक (Gray-sexual) :
कुनै व्यक्तिको यौन अभिमुखिकरण यौन भावनायुक्त र अयौनिकताको बीचमा झुलिएको छ भने ऊ खैर्याउनिक हो। भन्नले कहिले यौनिक व्यक्ति हुने र कहिले अयौनिक व्यक्ति हुने, यौनिक र अयौनिकमा तरलता अथवा यसको बीचमा हुने अनुभव भएका व्यक्तिहरू खौर्याउनिक हुन्।

यौन प्राथ्यात्मक अभिरूची (Sexual preference)

यौन प्राथ्यात्मिक अभिरूची भन्नाले व्यक्तिलाई यौनिक रूपमा कस्तो प्रकारको व्यक्ति मन पर्छ भन्ने आधार हो। केही समय अगाडी यौन अभिमुखिकरण नै यौन प्राथ्यात्मिक अभिरूची भन्ने मान्यता थियो भन्दा अहिले ती दुई शब्दहरूमा पारिभाषिक भिन्नता स्पष्ट भएको छ। कुन लैङ्गिकताको व्यक्ति कुन कुन लैङ्गिकताको व्यक्तिसँग आकर्षित हुन्छ भन्ने आधारमा यौन अभिमुखिकरण हुन्छ। यस आधारमा हाम्रो समाजमा केवल महिला-पुरुष बीचको आकर्षणलाई मान्यता दिएको छ। यसै गरी आकर्षित भएको लैङ्गिकताको आधारमा यी विभिन्न यौन अभिमुखिकरणको अस्तित्व छ।

यौन प्राथ्यात्मिक अभिरूची एउटा विशाल सागर हो। यो एकदमै विविध हुन्छ। उदाहरणका लागि एउटा विषमयौनिक पुरुष छ, ऊ पुरुष हो र महिला तर्फ आकर्षित छ। तर उसको यौन प्राथ्यात्मिक अभिरूची भने ४० वर्ष माथीको महिलाहरू हुन्। यी यौन प्राथ्यात्मिक अभिरूचीको सूचीकरण गर्न त कठिन छ तर केही उदाहरणहरूका निम्ति :
(क) पूर्ण्याउनिक (Allosexual) : कुनै व्यक्तिसँग यौन आकर्षणको अनुभव हुने, भावनात्मक सम्बन्ध प्रगाढ अनावश्यक।
(ख)अर्धयौनिक (Demisexual): कुनै व्यक्तिसँग भावनात्मक सम्बन्ध प्रगाढ नभएसम्म यौन आकर्षणको कुनै अनुभव नहुने व्यक्तिहरू अर्धयौनिक व्यक्तिहरू हुन्।
(ग) बौद्धिक्याउनिक (Sapiosexual) : कुनै व्यक्तिको बौद्धिकता र बौद्धिक क्षमताको आधारमा मात्र यौन आकर्षण वा प्रणय आकर्षण महसुस गर्ने व्यक्तिहरू बौद्धिक्याउनिक हुन् ।
जस्तै, एक समयमयौनिक महिला, एक महिला जसलाई महिला प्रती आकर्षित छ; ऊ कुनै अर्को महिला तर्फ आकर्षित हुन्छ भने पूर्ण्याउनिक अकार्षण अथवा उसलाई अर्को महिलासँग भावनात्मक सम्बन्ध प्रगाढ नभएसम्म यौन आकर्षणको कुनै अनुभव नहुने भए अर्धयौनिक आकर्षण हुन सक्छ सकिन्छ।


लैङ्गिक प्रस्तुतीकरण (Gender expression)

लैङ्गिक प्रस्तुतीकरण भन्नाले आफ्नो लैङ्गिकताको हाउभावात्मक अभिव्यक्ति हो। यो लैङ्गिक पहिचानसँग कसरी फरक हुन्छ भन्दा, एउटै लैङ्गिक पहिचान हुने व्यक्तिहरूले आफूलाई एउटै नाशमा प्रस्तुत गरिरहेका हुँदैनन्। आफूलाई महिला भनेर लैङ्गिक पहिचान राख्ने व्यक्तिहरूको पनि भिन्न भिन्न लैङ्गिक प्रस्तुतीकरण हुन सक्छ। जस्तै: कुनै महिला फेमे महिला हुन सक्छन्, जो परम्परागत नारीत्वात्मक प्रस्तुतीकरण झल्काउँछन्। कोही महिला परम्परागत रूपले पुरुष्त्वात्मक प्रस्तुतीकरण झलाउने गर्छन्, जस्तै टमब्वाइ स्टाइल मनपराउनेहरू। दुबै खाले फरक प्रस्तुतीकरण गरेपनि लैङ्गिक पहिचान त महिला नै हो।

नाट्यगुरु रानी (Drag Queen) : परम्परागत रूपमा महिला भनिएको प्रवृत्तिको पहिरन अतिरंजित र भद्दा ढङ्गले लगाउने पुरुषहरू। यो पहनावा केवल केही कार्यक्रमका लागि मात्र हुन सक्छ र व्यक्तिको लैङ्गिक पहिचान भने पुरुष नै हुन्छ।

नाट्यगुरु राजा (Drag King): परम्परागत रूपमा पुरुष भनिएको प्रवृत्तिको पहिरन अतिरंजित र भद्दा ढङ्गले लगाउने महिलाहरू। यो पहनावा केवल केही कार्यक्रमका लागि मात्र हुन सक्छ र व्यक्तिको लैङ्गिक पहिचान भने महिला नै हुन्छ।

शहर्याउनिक पुरुष (Meterosexual man) : आफ्नो रूप रङ्ग, देखावट र सौन्दर्यको अति खयाल राख्ने पुरुषहरू, परम्परागत रूपमा महिलाले जसरी आफ्नो सौदर्यको ध्यान राख्छ भनिने गरिन्छ, सोही जस्तै आफ्नो सौन्दर्यमा ध्यान दिने पुरुषहरू

टमब्वाइ (Tomboy) : ती महिलाहरू जो परम्परागत रूपले पुरुषको देखावट भनिएको जस्तै प्रकारको फेसन गर्छन्

एफेमिनेट (Effeminate) : ती पुरुषहरू जो परम्परागत रूपले ‘मर्द’ भनेको व्यवहार भन्दा अलिक स्यासी(sassy) व्यवहार प्रस्तुत गर्छन्।

उल्लिखित कुनै पनि लैङ्गिक पहिचान नभएर एउटा प्रस्तुतीकरण मात्र हो। टमब्वाइ प्रस्तुतीकरण गर्नेहरू आफ्नो लैङ्गिक पहिचान महिला नै भन्न सक्छन्। महिला हुन परम्परागत नारीत्व झल्काउन अनावश्यक ठान्छन्। अथवा कुनै एफेमिनेट पुरुषले सो सरह।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक(अङ्ग्रेजी : Gender and Sexual Minorities) अथवा क्वयेर(अङ्ग्रेजी: Queer) ती व्यक्तिहरू हुन् जसका लिङ्ग, लैङ्गिकता वा यौन अभिमुखिकरण समाजले स्वीकारिएको हुँदैन, र तुलनात्मक रूपमा कम संख्या हुने गर्दछ, अथवा गैर-विषमयौनिक, गैर-त्याचलिङ्गी तथा अन्तर्लिङ्गी व्यक्तिहरू यस अन्तर्गत पर्छन्।

नेपालको संविधानमा ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक’ भनेर सम्बोधन गरिएको छ। कतिपय समूहहरूमा यी लिङ्ग, लैङ्गिकता र यौन अभिमुखिकरणलाई ‘अल्पसङ्ख्यक’ भन्दा हामी सँधै गैर-मूलधार र बिचरापनमा पर्ने हो कि भनेर ‘क्वयेर’ शब्दको प्रयोग गर्न चाहनछन्। यसै गरी अङ्ग्रेजीमा LGBTI’एलजिबिटीआइ’ पनि भन्ने गरिएको छ। तर यसमा पनि कतिले LGBT, LGBTQ, LGBTIQ, LGBTIQ+, LGBTIQAP, आदि सांक्षिप्तीकरणको प्रयोग गरेका छन्। यी सबै सांक्षेप्तीकरण असमावेशी भएको गुनासोका कारण MOGAI भन्ने सांक्षेप्तीकरणको पनि प्रयोग गरिएको छ। यसको अर्थ हो:
M = Marginalized
O = Orientations: Both Sexual Orientation and Romantic Orientation.
GA = Gender Alignments: Both Gender Identity and Gender Expression.
I = Intersex Bodily Variations (that include chromosomes, hormones, genitals or reproductive system).
यसको अनुवादमा
सि = सिमान्तकृत
भि = अभिमुखिकरणहरू : यौन अभिमुखिकरण र प्रणयात्मक अभिमुखिकरणहरू
लै = लैङ्गिक पङ्तिबद्धता : लैङ्गिक पहिचान र प्रस्तुतीकरण
लि = अन्तर्लिङ्गी विविधता

जैविक लिङ्ग(Sex)का आधारमा –
1) अन्तर्लिङ्गी, Intersex

लैङ्गिकताका आधारमा –

1) पारलिङ्गी, Transgender
2) विषुलिङ्गी, Transsexual
3) विषुपहिरणी, Transvestites
4) अलिङ्गी, Agender
5) दुईलिङ्गी, Bigender
6) मिश्रितलिङ्गी, Androgyne
7) द्रवलिङ्गी, Gender fluid
8) गैरानुरूपलिङ्गी, Gender non-confirming
9) क्वयेरलिङ्गी, Gender queer
10) गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान, Non-binary gender identities
11) त्याचान्तर्लिङ्गी, Ipso Gender
12) केथालिङ्गी, Gender Questioning
13) तेस्रोलिङ्गी, Third gender
14) अर्धलिङ्गी, Demigender

यौन अभिमुखिकरणका आधारमा –
1) समयौनिक, Homosexual
2) द्वयौनिक, Bisexual
3) गैरद्वयसांख्याउनिक, Skoiliosexual
4) सर्वयौनिक, Pansexual
5) द्रवयौनिक, Sexual Fluid
6) पारलिङ्यौनिक, Trans-attracted
7) केथायौनिक, Sexual Questioning
8) बहुयौनिक, Polysexual
9) अयौनिक, Asexual
10) खर्याउनिक, Gray-sexual

समाजमा व्यापक केही भ्रम र मिथ्याबिचारहरू

१) के अन्तर्लिङ्गीहरू उभयलिङ्गी(Hermaphrodites) हुन्?

अन्तर्लिङ्गी र उभयलिङ्गी(Hermaphrodites)मा ठूलो फरक छन्। फरक के हो भने उभयलिङ्गी भनेको त्यस्तो जीव हो जस्मा एउटै जीवको पुलिङ्गी प्रजनन अङ्ग र स्त्रीलिङ्गी प्रजनन अङ्ग दुबै पूर्ण रूपमा हुन्छन् र ती जीवहरूले आफूले आफैलाई यौन सम्पर्क गरेर बच्चा उत्पादन गर्न सक्छ। तर यो उभयलिङ्गीको अस्तित्व स्तनधारी प्राणी (Mammals)हरूमा असम्भव छ। यो केवल गड्यौँला, मेरुदण्ड नभएका जीवहरूमा हुने गर्दछ। कुनै अन्तर्लिङ्गी सँग दुबै लिङ्ग र योनी त हुन्छ तर पूर्ण प्रजनन अङ्ग हुँदैन। अन्तर्लिङ्गीले अफु सँग आफै सेक्स गरेर बच्चा उत्पादन गर्न सक्दैन। त्यसैले अन्तर्लिङ्गीहरूलाई उभयलिङ्गी भन्न मिल्दैन।

२) अन्तर्लिङ्गीको स्वभाव पुरुषको जस्तै हुन्छ कि महिलाको जस्तै? अनि उनीहरूको आकर्षण को प्रति हुन्छ?

जस्तै हामीले पहिले नि कुरा गर्यौँ, अन्तर्लिङ्गी हुनु जैविक लिङ्ग हो। यसको लैङ्गिकता र यौन अभिमुखिकरणमा सम्बन्ध हुँदैन। एक अन्तर्लिङ्गी व्यक्तिको जुन पनि लैङ्गिक पहिचान र यौन अभिमुखिकरण हुन सक्छ, जसरी एक पुलिङ्गी र स्त्रीलिङ्गीको। उनीहरू आफ्नो लैङ्गिकता अनुरूप नै प्रस्तुत हुने गर्दछन्।

३) के अन्तर्लिङ्गी हुनु एउटा असामान्यता वा रोग हो?

अन्तर्लिङ्गी हुनु कुनै रोग वा असामान्यता होइन। एकदमै प्राकृतिक र सामन्य हो। फरक यति मात्र हो कि उनीहरू तुलनात्मक रूपमा कम संख्यामा जन्म लिन्छन् र सामाजले हेयको नजरले हेर्छन्। अन्तर्लिङ्गीहरू समाजमा पहिले देखि थिए तर हाम्रो सामाजिक व्यवस्थाले उनीहरूको अस्तित्वलाई नकार्दै आए। मैले भनेको जस्तै अन्तर्लिङ्गीका XXY, XO, XYY, XXYY, XXXY, XY/XO, XX/XO, XX/XY chromosomes कुनै जीन उत्परिवर्तन(Genetic mutation) होइन। किन भने कुनै व्यक्ति फरक छ भन्दैम उसलाई असामान्य भन्न मिल्दैन। अन्तर्लिङ्गी रोग र असामान्य हुनुको कुनै प्रमाण छैन।

४) कोही अन्तर्लिङ्गी भएको कसरी थहा पाउने?

अन्तर्लिङ्गीमा धेरै विविधता छ। कुनै अन्तर्लिङ्गी जो लिङ्गो र योनी दुबै लिएर जन्मन्छन् उनीहरूको जन्मँदै अन्तर्लिङ्गी भनेर थहा पाउन सकिन्छ। तर जस्तै कुनै अन्तर्लिङ्गीको बाह्य अङ्ग पुलिङ्गी र भित्री अङ्ग स्त्रीलिङ्गी भएमा उसको बारे किशोरावस्थामा थहा पाइन्छ। जनमदा बाहिर बाट स्त्रीलिङ्गी लागे पनि किशोरावस्थामा स्थन नबढ्ने, महिनावारी नहुने, दारी जुँगा आउने, स्वर मोटाउने इत्यादिबाट मात्र थहा हुन्छ। एउटा कार्यक्रममा एक भारतीय डाक्टरले भनेका थिए। “एउटा शल्यक्रिया गर्नुपर्ने दुर्घटनाको केस आएको थियो। त्यो केसमा दुर्घटनाका कारण पेट एकदमै बिग्रिसकेको अवस्थामा एक पुरुष आए। ऊ ४५ वर्षको थियो। जब हामीले शल्यक्रिया गर्यौँ, उसको पेट भित्र त एउटा पूर्ण रूपले काम गर्ने स्वस्थ पाठेघर पो रहेछ! ४५ वर्षको यो उमेर सम्म कुनै पेटको एक्स रे अथवा भीडियो एक्स रे गर्न नपरेको हुनाले त्यो बारे कुनै कुरा थाहै थिएन।

५) अन्तर्लिङ्गी भनेको त यौन विकासका विकार(Disorders of Sex Development) भन्छन् रे!

बीसौँ शताब्दीमा अन्तर्लिङ्गी हुनुलाई यौन विकासका विकार(Disorders of Sex Development) मानिन्थ्यो। र यसलाई रोग सरह उपचार गर्नु पर्छ भनेर उपचार खोजिरहन्थ्यो। यदि इन्टर्नेट र कुनै पुस्तक बीसौँ शताब्दी को हो भने त्यसमा यस्तै लेखिएको हुन्छ। तर सेक्सविज्ञहरूले अन्तर्लिङ्गी(Intersex) र यौन विकासका विकार(Disorders of Sex Development)का बीच भिन्नता छुट्याइसकेका छन्। हो विभिन्न अवस्थाहरूमा अन्तर्लिङ्गीका जस्तै यौनाङ्ग लिएर जन्मनु रोग हुन सक्छ। जस्तै मानिल्यौँ कुनै व्यक्तिको लिङ्गको टुप्पोमा प्वाल नभैकन लिङ्गको बीचमा प्वाल छ। यसबाट बचालाई पिसब फेर्नमा समस्या हुन्छ। यसको शल्यक्रिया नगरेका क्यान्सर हुन सक्छ। यो हो यौन विकासका विकार। तर कुनै व्यक्तिका दुबै योनी र लिङ्ग छ, ऊ यसका कारणबाट रोगी छैन, स्वस्थ छ। यी दुइटा यौनाङ्गले कुनै समस्या उत्पादन गर्दैन, यो अन्तर्लिङ्गी हो। यौन विकासका विकार भनेर अन्तर्लिङ्गीलाई पनि त्यसै भित्र पार्नु भनेको अन्तर्लिङ्गी तर्फ सामाजिक लाञ्छनाको एउटा उपज हो। कुनै व्यक्तिको लिङ्गो पनि छ, योनी पनि छ, व्यक्ति स्वस्थ छ र उसको दुबै यौनाङ्ग उसको शरीर र जीवनका लागि महत्वपूर्ण छ भने त्यो कसरी यौन विकासका विकार हुन सक्छ!

६) अन्तर्लिङ्गी बच्चाहरूमा शल्यक्रिया गरेर सामान्य बाउन सकिन्छ रे!

सर्वप्रथम त अन्तर्लिङ्गी हुनु कुनै असामान्यता होइन। हाम्रो संकीर्ण सोचाइमा नअटाउँदैमा कोही असामान्य हुँदैन। अन्तर्लिङ्गी व्यक्तिहरूलाई आफ्नो यौन अङ्गबाट कुनै समस्या उत्पादन हुँदैन। कतिपय अभिभावकहरूले बाल्यावस्थामै अन्तर्लिङ्गी बच्चाहरूको शल्यक्रिया गरिदिन्छ। यो बाल यौनाङ्ग कर्तनको अपराध हो। यसले बच्चाको भविष्यमा असर पार्छ। यदि कुनै अन्तर्लिङ्गी व्यक्ति १८ वर्ष पुगेर स्व-निर्णय गरेर शल्यक्रिया गर्न चाहन्छ भने त्यो नीजको अधिकार हो। तार अबोध शिशुको यौनाङ्ग ‘सामान्य बनाउने’ भन्दै कर्तन गर्नु हुँदैन र आपराधिक कार्य पनि हो। यसलाई यौन अङ्ग बिगर्दिने प्रयासका रूपमा चिनिन्छ। यदि कुनै अन्तर्लिङ्गीले शल्यक्रिया नगर्ने जस्तो छ त्यतै बस्ने भन्ने निर्णय गरे त्यो उसको अधिकार हो। कसैले उसको प्रकृतिलाई जबरजस्ती परिवर्तन गराउनु मिल्दैन। अनि धेरै अन्तर्लिङ्गीहरूमा यो शल्यक्रिया र हर्मोन थेरापि असफल हुने गर्दछ। अन्तर्लिङ्गी अपरिवर्तनशील कुरा हो। थोरैमा त्यस्ता शल्यक्रिया सफल हुन्छ तर अधिकांशका शरीरमा त्यस पश्चात् नाना थरीका समस्याहरू उत्पन्न हुने गर्दछ।

७) त्यस भए अन्तर्लिङ्गी व्यक्तिहरूलाई दाइ/दिदी वा कुन शब्दको प्रयोग गर्ने?

अन्तर्लिङ्गी व्यक्तिहरूको आफ्नै लैङ्गिक पहिचान हुन्छ, र आफूले इछ्याएको अनुरूप नै सम्बोधन गरिनुपर्छ। उनीहरू जुन शब्दबाट सम्बोधित हुन चाहन्छ, त्यही शब्दको प्रयोग गर्नु पर्छ। उनीहरूलाई दाइ, भाइ, इत्यादि भन्न रुचाउँछन् भने त्यही शब्दको प्रयोग गर्ने। उनीहरूलाई दिदी, बहिनी इत्यादि भन्न रुचाउँछन् भने त्यही शब्दको प्रयोग गर्ने। वा यदी लैङ्गिक तटस्थ शब्द जस्तै श्री, व्यक्ति, आदि भन्न रुचाउँछन् भने त्यही शब्दको प्रयोग गर्ने।

८) शौचालयको व्यवस्था कस्तो हुनु पर्छ?

यस्मा तीन मत रहेको पाइन्छ।
क) अन्तर्लिङ्गी(पारलिङ्गीलाई पनि समावेश गरेर) छुट्टै अर्को शौचालय बनाउने
ख) अन्तर्लिङ्गी स्वेच्छामा पुरुष वा महिलाको शौचालयमा जान दिने
ग) लिङ्ग निष्पक्ष शौचालय(Gender neutral toilet) को निर्माण गर्ने

९) यस्तो वाहियात कुरा पहिले कहिल्यै सुन्या थिएन। अहिले आएको नयाँ जीव हो?

तपाइँको विचार संकीर्ण भयो भन्दैमा कोही व्यक्ति वाहियाद हुँदैन। अन्तर्लिङ्गीहरू यस विश्वको आदिकालदेखि नै थिए। बच्चा जन्मिनका लागि X र Y गूणसूत्रको मिलन हुनु पर्दछ। जब यौनसम्पर्क हुन्छ र शुक्रकीटहरू पाठेघरका अण्डामा मिसिन पुग्छ, अण्डामा XX र शुक्रकीटमा XY हुने गर्दछ। यसको मिलका बखत X र X मिल्न पुगेमा स्त्रीलिङ्गी बच्चा हुन्छ भने X र Y मिल्दा खेरी पुलिङ्गी बच्चा। यसै गरी धेरै पटक X र Y नै मिल्दा, Y को अलिक अंश कटेर X को अलिक अंश बस्न सक्छ। त्यस्तो बेलामा XY गूणसूत्रको Y मा पनि थोरै X मिसिएको अन्तर्लिङ्गी बच्चा जन्मन्छ। यसै गरी X र X मिल्दा पनि, एउटा X को अंश काटेर अर्को Y को अंश बस्न सक्छ, र त्यसबेला XX गूणसुत्रमा थोरै Y मिसिएको अन्तर्लिङ्गी बच्चा जन्मन्छ। अझै विविध हुने गर्दछन् अन्तर्लिङ्गी। फरक यो मात्र हो कि तपाइँलाई यस बारे थहा छैन। अन्तर्लिङ्गी बच्चा जन्मन बित्तिकै धेरै देशहरूमा हत्या, अनावश्यक शल्यक्रिया गर्ने भएकाले यस्तो लागेको हो। इतिहासमा हेर्दा विभिन्न संस्कृति, धर्म शास्त्र, लेख, अभिलेखहरूमा अन्तर्लिङ्गी बच्चाहरूका बरेमा प्रशस्त उदाहरणहरू छन्। फरक यो मात्र हो कि कुनै संस्कृतिमा यसलाई नकरात्मक रूपले हेरिन्छ भने कुनैमा सकरात्मक। इतिहासका विभिन्न सभ्यताहरूमा अन्तर्लिङ्गीहरू उल्लेखनीय छन्। उदाहरणका लागि सुमेरी सभ्यताको एक मिथ्या कथामा निमा नामक एक अन्तर्लिङ्गी भगवानलाई मानिन्छ। एक ग्रीक लेखक Diodorus Siculusले एकौँ शताब्दीमा Hermaphroditus पुस्तकमा अन्तर्लिङ्गीका बारेमा लेखेका थिए। अन्तर्लिङ्गीहरू कुनै नयाँ जीव होइन, उनीहरूको अस्तित्व मानवताको आदिकाल देखि थियो र रहनेछ। इतिहासका विभिन्न कालखण्डमा अन्तर्लिङ्गी व्यक्तिहरू अभिलेखिकरण भएका छन्। यो मानव समाजको विविधता भरी नै देखिएको पाइन्छ।

History of Intersex People all across the world(Link)

१०) दुईलिङ्गी(Bigender), मिश्रितलिङ्गी(Androgyne) र द्रवलिङ्गी(Gender Fluid)हरूमा हल्का कन्फ्यूज भएँ!

मिश्रितलिङ्गी भनेपछि पुरुष व्यवहार र महिला व्यवहार देबै सँगै मिश्रित भएर आउने, दुबै बराबर र सँगसँगै हुने। दुईलिङ्गी भनेपछि पुरुषत्व र नारीत्व दुबै हुने तर एक बेला केवाल पुरुषको मात्र व्यवहार हुने र एक बेला महिलाको मात्र व्यवहार हुने, दुबै सँगै नाआउने। द्रवलिङ्गी भनेपछि पुरुष व्यवहार र महिला व्यवहार देबै बिन्दुको बीचमा जे पनि हुनसक्ने, यो स्प्रेक्ट्रम बीच झुलिरहने व्यक्तिहरू।

११) हिजडा भनेको के हो? के हिजडा भनेको पारलिङ्गी हो?

अक्सर नेपाली समाजमा, प्रायतः याही कथित शिक्षित समाजमा पारलिङ्गी(Transgender) र अन्तर्लिङ्गी(Intersex) र कहिलेकाहीँ समयौनिज(Homosexual) र द्वयौनिक(Bisexual) लाई पनि धेरै मानिसले छक्का वा हिजडा जस्ता शब्दको प्रयोग गर्दै आएका छन्। यसो सडकमा कुनै पारलिङ्गी महिला(Transwoman) हिँडिरहेको अवस्थामा सडकमा अन्य पैदलयात्रुहरूले तुरुन्तै छक्का, six वा कुनै यस्तै प्रकारको टिक्का टिप्पणी दीहल्छ। यदि चलचित्र वा कुनै माध्यमबाट कुनै दुई पुरुष बीचको प्रेम सम्बन्ध वा कुनै दुई महिला बीचको प्रेम सम्बन्ध देखाउन खोज्छन् भने फेरी यिनै प्रकारका टिक्का टिप्पणीहरू हुने गर्दछ।

भारत, बाङ्लादेश र पाकिस्तानमा “हिजडा संस्कृति” छ। यो संस्कार मान्ने पारलिङ्गी महिला हुन्। हिजडा खास गरी कुनै लिङ्ग भन्दा पनि एउटा संस्कृति हो। यो केवल एउटा समुदाय र संस्कृति हो जुन भारतमा एकदम प्रचलित छ। यस संस्कृति करिब ४००० वर्ष देखि प्रचलित छ। अधिकांश यस समुदायमा पारलिङ्गी महिलाहरू भित्रने हुनाले यो भ्रम रहेको पाइन्छ। यस समुदायमा पुरुषहरू पनि भित्रिन्छन्। इतिहास केलाउँदा भारतका मुगल रानी, राजकुमारीहरुलाई संगीत सिकाउँदा राख्ने बेला उनीहरूलाई तलमाथि नहोस् भनी गुरुहरुको लिंग काटिन्थ्यो। तिनीहरु हिजडाको पद नामले चिनिन्थ्यो। हिजडा परम्पराको सुरुवात गर्ने मुगल राजाहरू नै हुन्। पुरुषहरूको लिङ्ग काटेर हिजडा पद दिने प्रचलन थियो। बेलायती उपनिवेश पश्चात् भारतमा यो चलन हट्दै गयो। त्यसपछि आफ्नो सांस्कृतिक पृष्ठभूमीलाई बचाउनु पर्छ भन्ने धारणाले पारलिङ्गी महिलाहरूद्वारा यो परम्परा अपनाइएको हो।

आजकाल भारतमा हिजडा समुदायमा भित्रिसके पछी यसका कट्टर नियमहरू पालना गर्नु पर्छ। सर्वप्रथम त अण्डकोस(testes) काट्नु पर्छ। महिलाकै भेषमा बस्नु पर्छ। कुनै कामकाजमा लाग्नु हुन्न। केवल ब्रतबन्ध, विवाह र अन्य शुभ मानिने कार्यहरूमा आशिर्वाद दिने र नाच्ने काम गर्नु पर्छ। कहिल्यै उठेर पिसाब फेर्नु हुन्न। धेरै हिजडाहरू यौन पेशामा संलग्न छन्। उनीहरूले हिजडा परम्परा अनुसार नै आफ्नो जीवन बिताउनु पर्ने हुन्छ। उनीहरूको परम्परागत कट्टर नियममा ढन्लुपर्छ। भारतमा हिन्दु परम्परा अनुसार उनीहरूलाई पवित्र मनिने गरिन्छ। तर यो मान्यता पनि हाराउँदै गएको छ। अझ त हिजडाहरूले अनार्थ बालकहरूलाई लगेर साहारा दिन्छन् र पछि उनीहरूलाई पनि हिजडा समुदायको नियममा पाल्छन् र बस्न बाध्य बनाउँछन् भन्ने कुरा भारतीय मिडियाले भनेको पनि पाइन्छ। यति मात्र होइन यस समुदायको एउटा गोप्य भाषा: हिज्रा फारसी(Hijra Farsi) पनि छ।

आजको अवस्थामा भन्नुपर्दा हिजडा वास्तवमा पारलिङ्गी महिलाको एक सामाजिक समूह/संस्था वा एक धार्मिक पंथ हो। हिजडा संस्कारमा छिर्नेहरू पारलिङ्गी महिलाहरू नै हुन्, तर यो आवश्यक छैन कि सबै पारलिङ्गी महिलाहरू हिजडा बन्छन्। यो संस्कार नेपालमा छैन। मधेसका केही व्यक्तिहरू भारतमा गएर यो संस्कारको अपनत्व गरेका छन्। यसरी सबै पारलिङ्गी महिलाहरूलाई “हिजडा”को रूपमा सामान्यीकरण गर्नु, त्यसलाई सम्पूर्ण पारलिङ्गी महिला एवम् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको उपज बनाउन मिल्दैन।

१२) यदि यौनाङ्ग परिवर्तन गरेर कोही पारलिङ्गी आफ्नो विपरीत लिङ्गको हुन सक्छ भने उस्को मानसिकतालाई परिवर्तन गरी सोही लिङ्गको लैङ्गिकता बनाउन मिल्दैन र?

सर्वप्रथम त यो हो कि लिङ्ग अपरिवर्तनशील कुरा हो। पारलिङ्गी महिला- जो शारीरिक रूपले पुलिङ्गी र मानसिक रूपले महिला- उनीहरूको शरीरमा केही औषधीको प्रयोगले महिला जस्तै देखिन्छ। यो औषधि जीवन भरी प्रयोग गर्नु पर्छ र छोडेमा फेरी केही वर्ष पछि पहिले जस्तै देखिन थाल्छ। यौनाङ्ग परिवर्तन भन्नाले पुलिङ्गीलाई स्त्रीलीङ्गीमा परिवर्तन गरेको होइन, यो मिल्दैन। केवल यौनाङ्गलाई शल्यक्रिया द्वारा आकार बनोट परिवर्तन गरिएको हो। कुनै लिङ्गो भएका व्यक्तिको शल्यक्रिया द्वारा लिङ्गोलाई नै पुनःनिर्माण गरी योनीको संरचना बनाइएको हो। कुनै योनी भएका व्यक्तिको शल्यक्रिया द्वारा योनीलाई नै पुनःनिर्माण गरी अन्यत्रका छाला मांशापेशीको प्रयोग गरी लिङ्गोको संरचना बनाइएको हो। यसलाई ‘लिङ्ग परिवर्तन’ भन्दा पनि ‘यौनाङ्ग पुनःनिर्माण शल्यक्रिया’ भन्नु पर्दछ। कुनै व्यक्तिले लिङ्गोलाई योनीमा पुनःनिर्माण गरेपनी उसको शरीरले स्वतःस्फूर्त रूपमा स्त्रीलिङ्गी हर्मोन उत्पादन गर्दैन। पिल्स मार्फत् आपूर्ती गरिरहनु पर्दछ। यसले गर्दा XY गुणसूत्र नै XXमा लगिएको होइन। यही कुरा पारलिङ्गी पुरुषहरूमा पनि लागु हुन्छ। तसर्थ, बाह्य अङ्गहरूलाई शल्यक्रिया मार्फत पुनःसंरचना दिइएको मात्र हो, कुनै मेडिकल इन्टरभेन्सनले न मानिसको लिङ्ग परिवर्तन गर्न सकिन्छ न त लैङ्गिकता।

१३) के पारलिङ्गी हुनु रोग, असामान्यता हो?

पारलिङ्गी हुनु कुनै रोग या असामान्यता होइन। यो रोग भएको कुनै प्रमाण छैन। यो पूर्ण रूपमा प्राकृतिक हो। न यो कुनै प्रकारको हर्मोन गडबडी हो। विभिन्न वैज्ञानिकहरूले यो हर्मोन गडबडी हो अप्राकृतिक हो वा रोजाइ हो भनेर थियोरि प्रास्ताव गरेका पनि छन्। इन्टर्नेटमा त्यस्तो भन्ने थुप्रै लेखहरू छन्। किनभने २०औँ शताब्दीको सुरुसम्म यस्तै मान्यता थियो। तर यो जान्नु जरूरी छ कि ती तर्कहरू को आलोचना भएर अप्रमाणित भैसकेका छन्। यस्तो लेखहरू पढ्दा भर पर्दो स्रोतबाट पढ्नु पर्छ, जस्तै अमेरिकी मनोवैज्ञानिक संगठन, विश्व स्वास्थ्य संगठन, इत्यादि। यसलाई लैङ्गिकताको विविधता (Gender variations)का रूपमा लिइन्छ।

१४) यो एउटा जीवन शैली हो। पहिला पहिला त यो पारलिङ्गीका बरेमा सुनिदैनथ्यो। अहिले मात्र यस्तो कुरा सुन्न पाइरहेका छौँ। यो पाश्चात्य संस्कृतिको प्रभाव हो। यो आफूखुसी भएको हो।

यो कुनै पनि जीवन शैली होइन। मानिलिऔँ हाम्रो जस्तो समाजमा व्यक्तिहरूले आफ्नो लैङ्गिकता रोज्न पाउँथे रे। त्यस्तो अवस्थामा मानिसहरू समाजमा अपहेलित हुन, अस्वीकारेको वर्ग हुन किन रोज्लान् त? पारलिङ्गी भनेर समाजमा खुल्न बित्तिकै अनेकौँ अपहेलना लाञ्छना, यहाँ सम्म कि वहिष्कार र विभेद पनि भोग्नुपर्ने हुन्छ। उदाहरण लिऔँ साउदी अरबको। साउदीमा पारलिङ्गीहरुलाई कठोर मृत्युदण्द दिइन्छ, त्यहाँ पापी अपराधी नै मानिन्छ। साउदी अरबमा पनि पारलिङ्गीहरू त छन्। फरक यो मात्र हो कि खुलेर आफ्नो भावनाका बारेमा कतिको कुरा गर्न सक्छन् र कतिको आफूलाई कुण्ठित राख्दछन्। विश्वमा पारलिङ्गीको अस्तित्व आदिकाल देखि नै थियो। आदिम भारत, नेटिभ अमेरिकी, अष्ट्रेलियन एबोरिजिनलहरूमा पारलिङ्गीको इतिहास अभिलेखीकरण नै भएको छ। हो सामाजिक संकीर्णता बढ्दै गएपछी विभिन्न कालखण्डहरूमा पारलिङ्गीहरुलाई अति-विभेद हुन थाल्यो। उनीहरूको अस्तित्व हुँदा पनि त्यसलाई ‘सामान्य’ भनेर स्वीकारिएन। तर हामीले विश्वभरीका विभिन्न आदिमकालीन मिथ्या र इतिहास हेर्ने हो भने यसलाई एकदमै सामान्य रूपमा लिइने गरिएको पाइन्छ।

History of Transgender People all across the world(Link)

१५) के पारलिङ्गीहरू यौनाङ्ग परिवर्तन गर्न चाहन्छन्?

यो व्यक्तिको आफ्नो इच्छ्या हो। कोही पारलिङ्गी हो भन्दैमा उसले यौनाङ्ग परिवर्तन गर्छ वा गर्न चाहन्छ भन्ने हुँदैन। यो नीजको आत्मनिर्णयको कुरा हो। यौनाङ्ग परिवर्तन गर्नैपर्छ भन्ने आवश्यकता पनि छैन।

१६) पारलिङ्गीहरू(विशेष गरी पारलिङ्गी महिलाहरू) एकदमै छुच्चो र रिसाहा हुन्छन्!

छुच्चो र रिसाहा हुनुको पनि लैङ्गिकता हुन्छ र? अरु लैङ्गिकताका व्यक्तिहरू छुच्चो र रिसाहा हुँदैन र? पारलिङ्गीहरू (विशेष गरी पारलिङ्गी महिलाहरू) एकदमै छुच्चो र रिसाहा हुन्छ भन्ने एउटा मिथ्याविचार र भ्रमात्मक स्टेरियोटाइप धेरैमा रहेको छ। हुन सक्ला कतिपय पारलिङ्गी व्यक्तिहरू मनो-सामाजिक कारण जस्तै एकदमै हेप्ने, बाटोमा हिँड्दा दुर्व्यवहार गर्ने, मानसिक तनाव दिने, इत्यादिले गर्दा रिसाह बानी विकास हुने। तर त्यो कुनै लैङ्गिकतामा सीमित छैन। जुनसुकै व्यक्ति जसले समाजमा पाउनुपर्ने प्रतिष्ठा पाउँदैन, माया पाउँदैन, नकरात्मक भावहरूबाट घेरिएको हुन्छ, उनीहरूमा चिडचिडापन हुनु स्वभविक नै हो। अझ त घरको ढोका बाहिर पाइला राख्न पाउँदैनन् सबैको कुनजर, हेला र मौखिक हिंसा दिनहुँ भोग्नुपर्दा त्यसले व्यक्तिको स्वभावमा असर गरेको हुन सक्छ। जसरी समाजले पारलिङ्गीहरूलाई व्यवहार गरेको हुन्छ, यसका कारण मानिसलाई पहिला डर हुन्छ, र यो डर बिस्तारै रीसमा परिणत हुने गर्दछ।

१७) सबै पारलिङ्गी महिलाहरू यौनकर्मी हुन्।

यो एक गलत समान्यिकरण हो। सर्वप्रथम त यौन व्यवसायलाई लञ्छनायुक्त दृष्टिकोणले हेर्ने धारणाबाट हेरिने गरिन्छ। पारलिङ्गी महिला हुँदैमा अटोम्याटिक नै ऊ यौनकर्मी हुन्छ भन्नु पारलिङ्गी महिलाको वस्तुकरणसँग जोडिएको धारणा पनि हो। पितृसत्तत्मक समाजमा महिलाहरूको वस्तुकरण गरेर हेरिन्छ। पारलिङ्गी महिलाहरूमा यो वस्तुकरणको विषय अझै प्रगाढ छ। पारलिङ्गी महिला हुँदैमा ‘ऊ त जो सँग पनि सुत्छ’ भन्ने कुधारणा व्याप्त छ। सर्वप्रथम त जुनसुकै लिङ्गका व्यक्तिले जस्तो सुकै पेशा अपनाउन सक्छ। अझै पनि पितृसत्तत्मक सोच राख्नेहरूमा पुरुषहरूले यस्तो यस्तो काम गर्ने र महिलाले घरको मात्र काम गर्ने, अरु काम गर्न अयोग्य भन्ने धारणा रहेको छ। तर महिलाहरूले त्यो स्टेरोटाइपलाई गलत प्रमाणित नै गरे। पारलिङ्गीहरूको सवालमा पनि आज विश्वका गन्ने मान्ने मानिसहरू पनि पारलिङ्गीहरू छन्। कुनै त्यस्तो समाज जहाँ पारलिङ्गी भएको आधारमा विभेद हुँदैन, लाञ्छना हुँदैन, दुर्व्यवहार हुँदैन, त्यहाँ पारलिङ्गीहरूले पनि आफ्नो रूची र इच्छ्या अनुसार जे पेशा पनि गर्न सक्छन्। लाञ्छना र विभेदसँग जुझेर नै कतिपय पारलिङ्गीहरू एउटा सफल जीवन निर्वाह गर्दै आएका छन्।

कुनै एक बालिग व्यक्ति जसले आफ्नो शरीरको आफै निर्णय लिन्छन्, हामी कसैले उसमाथी प्रश्न गर्ने अधिकार छैन। कुनै व्यक्तिले आफ्नो शरीरमाथी आत्मनिर्णय गर्न पाउनु उसको अधिकार हो। कुनै एक बालिग व्यक्ति, जुन सुकै लैङ्गिकताका व्यक्तिले यौनकर्मी पेशा अपनाउने निर्णय लिएमा त्यो नीजको व्यक्तिगत अधिकार हो, हाम्रो चासोको विषय होइन। तर कतिपय ती पारलिङ्गी महिलाहरू छन्, जो स्वनिर्णय वा खुला निर्णय भन्दा पनि बाध्यता र करले गर्दा यौन व्यवसाय गर्छन्। यस्तो बाध्यात्मक परिस्थिति भने चासोको विषय हो। यसको कारण हाम्रै सामाजिक संरचना हो। यस्तो बाध्यात्मक परिस्थिति सृजनाको सुरुवात सानैबाट हुन्छ। समाजको परिभाषा भन्दा अलिक फरक व्यवहार देखाउँदैमा पारलिङ्गीहरूले घर परिवार, छर छिमेक र विद्यालयमा हेपाई, लाञ्छना र विभेद दिन दिनै सहनु पर्ने हुन्छ। यस्तो अवस्थामा धेरैजनाले विद्यालय बीचमै छोड्न बाध्य भएका छन्। शिक्षा नपाएका व्यक्तिहरूले जागिर पाउन निकै कठिन छ, अझै पारलिङ्गी व्यक्ति भएपछी शिक्षित र सक्षम भएतापनि विभेदपूर्ण दृष्ट्रिकोणले हेर्ने गरिन्छ। कतिपय पारलिङ्गी महिलाहरू आफ्नो घर छोडेर काठमाडौँ वा कुनै शहरमा डेरामा बस्छन्। त्यस्तो विषम आर्थिक अवस्थामा धेरैले यौन व्यवसाय अपनाउन बाध्य भएका छन। यस्तो बाध्यात्मक अवस्था सृजना गर्नु नै हाम्रो सामाजिक संरचनाको दुर्भाग्यपूर्ण यथार्थ हो।

१८) पारलिङ्गी, दुईलिङ्गी, मिश्रितलिङ्गी, द्रवलिङ्गी, तेस्रोलिङ्गी वा अरु कुनै गैर-द्वयसांखिक लैङ्गिक पहिचानहरूका व्यक्तिहरूलाई ‘दाइ भन्ने कि दीदी भन्ने’?

सर्वप्रथम त कुनै व्यक्तिलाई ‘केटा’ वा ‘केटी’को दुई संकीर्ण बाकसहरूमा राखेर हेर्ने बन्द गर्नुपर्यो। सबैजना यी बाकसमा अटाउँदैनन्। कुनै व्यक्ति परम्परागत सामाजिक महिला र पुरुषको परिभाषा भन्दा फरक प्रवृत्तिको देख्दैमा ‘त्यो केटा हो कि केटी हो’ भन्ने प्रश्न गरीहाल्छौँ। कसैको लैङ्गिकता अड्कल नगरिदिनुहोला। संसारका सबै व्यक्तिहरूको, बाटोमा हिँड्ने कुनै अञ्जान व्यक्तिको लैङ्गिक पहिचान तपाइँको चासोको विषय होइन। सबैलाई एउटा सुरक्षित सामाजिक वातावरणमा बस्न पाउनुपर्छ।

‘तपाइँ आफूलाई के भनेर चिनाउनु हुन्छ?’, ‘तपाइँको लैङ्गिक पहिचान के भन्नुहुन्छ?’ भन्ने मर्यादित ढङ्गले प्रश्न गर्नु उचित हो। नीजले जे भने उनलाई त्यसैबाट सम्बोधन गरिदिनु होला। कसैले ‘म तेस्रोलिङ्गी हो’ भन्यो भने उनलाई ‘तेस्रोलिङ्गी’ भनेरै सम्बोधन गरिनुपर्छ। कसैले ‘म पारलिङ्गी हो’ भन्यो भने उनलाई ‘पारलिङ्गी’ भनेरै सम्बोधन गरिनुपर्छ। कसैले ‘म द्रवलिङ्गी हो’ भन्यो भने उनलाई ‘द्रवलिङ्गी’ भनेरै सम्बोधन गरिनुपर्छ।

यसै गरी, ‘तपाइँ आफूलाई कुनै लैङ्गिकताजनक शब्दबाट चिनाउन चाहनुहुन्छ’ भनेर मर्यादित ढङ्गले प्रश्न गर्नु उचित हो। अङ्ग्रेजी बोल्ने समूहमा अधिकांश ‘What are your preferred pronouns?’ भनेर सोधिने गरिन्छ। उनले he, him भन्यो भने सोही अनुसारका शब्दहरूले सम्बोधन गर्ने; she, her भन्यो भने सोही अनुसारका शब्दहरूले सम्बोधन गर्ने; र they, them भन्यो भने सोही अनुसारका। मूलधारमा ‘they, them’ भन्नाले बहुवचन ‘उनीहरू’ भनेर जनाउने भएतापनी अहिले अङ्ग्रेजी भाषा बोल्ने समाजमा भने ‘they, them’लाई तृतिय व्यक्ति एकवचन लैङ्गिक तटस्थ सर्वनाम((Third person singular gender neutral pronoun)का रूपमा प्रयोग गरिन्छ। यो अर्थात् नीजलाई लैङ्गिक तटस्थ शब्द जस्तै ‘सन्तान, विद्यार्थी, श्री, व्यक्ति’बाट सम्बोधन गर्नुपर्छ। यही कुरा नेपालका अरू भाषाहरूमा पनि लागु हुन्छ। नीजले ‘मलाई महिलावाचक शब्दहरूबाट सम्बोधन गर्नुहोला’ भन्यो भने ‘छोरी, सुश्री, बहिनी, दिदी’ जस्ता शब्दहरूबाट सम्बोधन गरिनुपर्छ भने ‘मलाई पुरुषवाचक शब्दहरूबाट सम्बोधन गर्नुहोला’ भन्यो भने ‘छोरा, श्रिमान्, भाइ, दाइ; जस्ता शब्दहरूबाट सम्बोधन गरिनुपर्छ। पर्वते भाषामा भने कतिपय शब्दहरूको लैङ्गिक तटस्थ शब्द नभएकाले गाह्रो हुने गर्दछ, जस्तै दाइ र दीदीको लैङ्गिक तटस्थ शब्द छैन। यसै गरी नेपालभाषामा पनि दाजु-तता को लैङ्गिक तटस्थ शब्द छैन। यस्ता विषयहरूमा भाषिक छलफलहरू हुनुपर्छ। कतिपय व्यक्तिहरूले अङ्ग्रेजी भाषामा ‘ne, nim, ner’, ‘xe, xim, xer’, ‘ey, eim, eir’, ‘hu, hum hus’ इत्यादी जस्ता नवनिर्मित सर्वनामहरू प्रयोग गर्दछन्। [थप जानकारीका लागि: Third person singular neo-pronouns in English]

१९) कोही समयौनिक कसरी बन्छ? के यो एउटा रोग, असामान्यता हो?

पारलिङ्गी र अन्तर्लिङ्गीलाई जस्तै समाजका कट्टरपन्थीहरूले यो एउटा असामान्यता हो, रोग हो जस्ता लाञ्छना लगाउँछन्। तर वैज्ञानिक रूपमा यो मानव यौनिकताको एक भिन्नता मात्र हो र यो आफैमा कुनै नकरात्मक मानसिकताको स्रोत होइन। समयौनिक हुनु पूर्ण रूपले प्राकृतिक हो र यो कुरालाई सन् १९७३मा अमेरिकी मनोवैज्ञानिक संगठन र सन् १९९०मा विश्व स्वास्थ्य संगठनले यसलाई प्रमाणित गरिसकेका छन्।

२०) यदि समयौनिक हुनु प्राकृतिक हो भने, रोजाइ होइन भने, किन मानिसहरू मात्र समयौनिक हुन्छ?

केनिया राष्ट्रिय निकुञ्जमा दुई पुरुष समयौनिक सिहंहरू, तस्वीर : Independent

समयौनिकता मानव प्रजाती बाहेक हजारौं लाखौँ जीवहरूमा पनि हुन्छ। मानव बाहेकका अनेकौँ जीवहरूमा समयौनिक यौन सम्पर्क, माया, जोडी मिलाउनु, र समयौनिक अभिभावक हुनुका समेत प्रमाणहरू छन्। यो विषय अभिलेखिकरण पनि भैसकेको विषय हो। सन् १९९९मा Bagemihl Bruce नामक एक अनुसन्धानकर्ताले ४५० वटा भन्दा बढी प्रजातीहरूमा समयौनिकता अभिलेखिकरण गरेका थिए। अहिले अझै धेरै प्रजातीहरूमा यो अभिलेखिकरण भैसकेको छ।
[थप जानकारीका निम्ति यस लेखको अन्त्यमा थप पाठ्य सामाग्रीमा यसबारे धेरै स्रोतहरू छन्]

२१) Gay भनेको त केटाहरू जो केटीका स्वभाव हुन्छन् त्यही होइन?

यो वास्तवमा सामाजिक भ्रमात्मक धारणा हो। गे भन्नले अङ्ग्रेजी भाषामा होमोसेक्सुअल म्यान (समयौनिक पुरुष)लाई भन्ने गरिन्छ। कुनै एउटा ‘केटा’ अलिक एफेमिनेट(नारीत्व) झल्कने हुँदैमा ऊ समयौनिक नै हो, अथवा उसको लैङ्गिकता नै फरक हो, भनेर अड्कल गर्नु मिल्दैन। विषमयौनिक पुरुष पनि अलिकति फेमिनाइन स्वभावका हुन सक्छन्। जस्तै टमब्वाइ महिला भन्छन्, त्यसै गरी एफेमिनेट पुरुष पनि हुन्छन्।

२२) समयौनिकता परिवर्तन हुन सक्छ र समयौनिकहरू विषमयौनिक हुन सक्छन्। यदि समयौनिक महिलाहरूलाई एकपटक पुरुष सँग सेक्स गराइदिएमा वा समयौनिक पुरुषहरूलाई एकपटक महिला सँग सेक्स गराएमा यो ठीक हुन्छ।

यी धारणाहरू एकदमै गलत, अवैज्ञानिक हुन्। कोही समयौनिक हुनु उसको जन्मजात यौनिक गुण हो। यो अपरिवर्तनशील हुन्छ। कसैको यौन अभिमुखिकरण जन्म देखि हुन्छ। केही ढोङ्गी, पैसामा बिकेका वा कट्टर मानसिकताका डाक्टरहरू समयौनिकतालाई रोग भन्ने र यसको उपचार हुन्छ भन्ने नानाथरिका दावा गरेर अनेकौँ उपचारका तालिका दिन्छन्। तर वैज्ञानिक जगत्‌मा यसको कुनै मान्यता छैन। यो केवल भ्रमात्मक कुरा मात्र हो। जब कि समयौनिक हुनु रोगै होइन भनेर प्रमाण आइसकेपछि, यसको उपचार भन्ने कुरै हुन्न।

के विषमयौनिक पुरुषहरूलाई एकपटक पुरुष सँग सेक्स गरेपछी समयौनिक हुन्छन् त? हुँदैन। के कुनै विषमयौनिक महिलाले अरु महिलासँग सेक्स गर्न सक्छ त? सक्दैन, त्यस्तो चाहना नै आउँदैन। त्यस्तो सोचबाट नै उसलाई घिन लाग्छ। त्यसै गरी कुनै समयौनिक व्यक्तिले पनि आफू विपरीत लिङ्गको व्यक्तिसँग सेक्स गर्नु घृणित मान्छ।

Corrective rape भनेर मानिसहरू समयौनिकहरूलाई विषमयौनिक व्यक्तिहरूसँग बलजफत् करणी गर्न लगाउँछन्, बलादकार गर्न लगाउँछन्। त्यस्तो आपराधिक घटनाहरू पनि हुने गरेको छ। कतिपय समयौनिक व्यक्तिहरूलाई दबाबमा हालेर विपरीत लिङ्गका व्यक्तिहरू सँग विवाह गराउँछन् वा सामाजिक दबाब महसुस गरेर विवाह गर्न बाध्य हुन्छन्। त्यस्तो अवस्थामा सो वैवाहिक जीवन र यौन जीवनमा सुख हुँदैन। यसरी समयौनिक व्यक्तिहरूसँग यौन चाहना नै नमिल्ने विषमयौनिक व्यक्तिहरू सित विवाह गरिँदिँदा, जीवन नै बर्बाद भएका कैँयौँ घटनाहरू सुन्न पाइन्छ।

२३) समयौनिक विवाहले परम्परागत विवाहको नियमलाई तोड्छ।

हामीले अघि भन्या जस्तै। परम्परा कहिल्यै एउटै हुँदैन। कुनै बेला हामी सती जानु नैतिक सोच्थ्यौँ अब त्यो सोच्न सक्दैनौँ। हामीले धेरै परम्पराहरू परिवर्तन गरिसकेका छौँ। निरंकुश राजतन्त्रलाई विष्णुको अवतार मान्नु, महिलाहरूलाई नीच देखाउनु, जात-भात, इत्यादि। परम्पराको नाममा कसै प्रति विभेद गर्ने अधिकार धर्म निरपेक्ष राज्यमा कसैलाई हुँदैन। जुन् कुरा आजको युगमा सुहाउँदैन, त्यसलाई निरन्तरता दिन सकिन्न, चहे त्यो जति वर्ष देखि चलिआओस्। किन भने हामीले विज्ञान र प्रमाणका अधारमा धेरै कुराहरू परिवर्तन गर्दै लानु पर्छ। अनि विवाहमा विपरीतलिङ्गीको पेवा पनि यी मध्ये एउटा हो।

२४) समयौनिक विवाहले मान्यता पाएमा सबै समलिङ्गी हुन्छन्।

जब समयौनिक हुनु रोजाइ नै होइन कसरी सबै जना समयौनिक हुन्छन्? यो त के, महिला अधिकार दिएमा संसारमा पुरुषको जन्मै नहुने हो कि भन्ने डर जस्तो मात्र हो। यसो हुने भए समयौनिक विवाहले मान्यता पएको देशहरूमा, मानिल्यौँ समयौनिक विवाहलाई सर्वप्रथम मान्यता दिने देशहरूमा त आज सम्म सबै जाना समयौनिक भै सक्नु पर्ने, त्यस देशमा त मानव अस्तित्वै हराउनु पर्ने।

२५) समयौनिकहरू बच्चा उत्पादन गर्न सक्दैनन् 

सक्दैन भने सक्दैन, यसमा के ठूलो कुरा छ र? यसमा लाञ्छना लगाइनु हुँदैन। कुनै बालिग व्यक्तिले विषमयौनिक भएतापनि उसले सन्तान नजन्माउने निर्णय लिन सक्छन्, र कुनै व्यक्ति समयौनिक भएपनि उसले आफ्नै तरिकाहरूबाट बच्चा जन्माउने निर्णय लिन सक्छन्। यदि कुनै पुरुष र महिला विवाह गरेर बच्चा पाउन चाहान्नन् वा बच्चा जन्माउने रहर छैन, के उनीहरूको विवाहमा प्रतिबन्ध लगाउने? धेरै विषमयौनिकहरुमा पनि बच्चा जन्माउने शक्ति हुँदैन, के उनीहरूको विवाहमा पनि प्रतिबन्ध लगाउने? अनि अर्को धेरै कुरा छन् जुन विषमयौनिक जोडीले रमाउन सक्छन्, चाहे बच्चा पाऊन् या नपाऊन्- जस्तै सम्पत्ति प्राप्ति, विवाह सुविधा।

अनि बच्चा नपाए पनि के भयो त? धर्म सन्तान त राख्न सक्छन् नि! अनि यदि बच्चा जन्माउने नै भए
समयौनिक पुरुष जोडीले Surrogacy र समयौनिक महिला जोडीले IVF गर्न सक्छन् र गरिरहेका छन्। त्यसका साथै अब एउटा नयाँ प्रविधि अनुसार समयौनिकहरूले जैविक सन्तान उत्पादन गर्ने प्रविधिको विकास हुँदैछ। वैज्ञानिकहरूले महिलाको Steam cell बाट Sperm बनाइसकेका छन्। अबको नयाँ प्रविधिले पारलिङ्गी महिलालाई पनि गर्भवती बनाउन सक्नेछ। अबको नयाँ प्रविधिले कृत्रिम पाठेघर बनाएर त्यसबाट बच्चा उत्पादन गर्न सक्ने भैसकेको छ।

बच्चा जन्मन नसक्नु यस शताब्दीको समस्याइ होइन्। अनि अर्को मुख्य कुरा हो कि हामी यस संसारमा बच्चा जन्माउनका लागि होइनौँ, हामी यस संसारमा त्यसैले हौँ कि हाम्रा आमा-बुबाले हामीलाई जन्माए।

२६) समयौनिक अभिभावकले पालेको बच्चाहरू राम्ररी हुर्कँदैन।

यो तर्कलाई साथ दिने कुनै आधार छैन। यसबाट बाल विकासमा पनि केही असर पर्दैन। यस विषयमा थुप्रै अनुसन्धान भैसकेको छ र विषमयौनिक अभिभावकले हुर्काएको बच्चा र समयौनिक अभिभावकले हुर्काएको बच्चामा केही विकासका अन्तर छैन। बच्चा हुर्काउनका लागि कुनै निश्चित लैङ्गिकता होइन, राम्रो अभिभावकीय गुण चाहिन्छ। विषमयौनिक हुँदैमा ऊ एक राम्रो अभिभावक हुने पनि होइन।

२७) समयौनिक विवाहले त संसारै ध्वस्त गर्छ!

यो कुरा फेरी दोहोरिएर “समयौनिक हुनु एउटा रोजाइ” भन्ने भ्रममा सम्पर्क गर्न जान्छ। समयौनिकहरू त जन्मन्छन् नै जन्मन्छन् यो प्राकृतिक प्रणालीलाई चाहेर पनि कसैले रोक्न सक्दैन। समयौनिकहरूलाई जन्म दिने पनि फेरी विषमयौनिक जोडीहरू नौ हुन्। जब सम्म संसारमा बच्चा जन्माउने चलिरहन्छ, तब सम्म सबै थरीका बच्चाहरू जन्मने नै छन्। तर समयौनिकहरूले अधिकार पाउन बित्तिकै संसारमा सबै जाना समयौनिक भैदिन्छन् भन्ने भ्रम पाल्नु अधारहीन हो। यो असम्भव कुरा हो। महिला अधिकार पायो भने संसारमा पुरुषै जन्मन छोड्छ। भएका पुरुषहरू पनि लिङ्ग परिवर्तन गरेर महिला बन्नेछन्, भन्नु कतिको तार्किक होला, आफै बुझ्नुस्। समयौनिक जन्मनुको अर्थ यो होइन कि विषमयौनिक जन्मँदैन। जन्मन्छन् त!

२८) समयौनिक सम्बन्धहरूखासै टिक्दैन, त्यसैले समयौनिक विवाह लागु गर्नु अनावश्यक छ।

हेर्ने हो भने आजकाल अधिकांशको सम्बन्ध ट्क्दैन। यो यौन अभिमुखिकरणमा आधारित होइन। विषमयौनिक व्यक्तिहरूमा सम्बन्ध विच्छेद नै नहुने हो र? अझ अहिले सम्बन्ध विच्छेदको संख्या बढ्दो छ। सम्बन्ध जोड्नु वा विच्छेद हुनु मानव जीवनको एउटा घटना हो, अङ्ग हो। त्यसमा यौन अभिमुखिकरण कै आधार त होइन नि।

२९) तिमी पहिला यस्तो थिएनौ

प्राय जुनै पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू आफ्नो पहिचान खुलाएर आउँदा यस्तै सुन्नु परेको हुन्छ। तर कसैले पनि मानिसको आन्तरिक अनुभव र भावनाहरू बुझ्न सक्दैन। व्यक्तिले भनेमा मात्र थहा हुन्छ। यदि कुनै व्यक्तिले आफूलाई समयौनिक भनेर भनेन भने कसैले थहा पाउनै सक्दैन। पारलिङ्गीहरूलाई उनको व्यवहारले शङ्का गरे पनि पक्का पक्की त उसले भने पछि मात्र हुन्छ। धेरै सम्यौनिकहरू समाजको डरले आफू विषमयौनिक भएको नाटक गर्छन् वा समाजलाई देखाउन खोज्छन्। पारलिङ्गीहरूको पनि यस्तै हो। अब हिम्मत आएर उचित अवस्था महसुस गरेको हुँदा मात्र उनीहरूले आफ्नो पहिचान खुलाउँछन्। अधिकांस त समाजको डरले पनि लुकेरै बस्छन्।

३०) के द्वयौनिकहरू कन्फुजनमा छन्?

होइन। जसरी विषमयौनिक हुनु वा समयौनिक हुनु दुबै सामान्य र प्राकृतिक हो, द्वयौनिक हुनु पनि उत्तिकै सामान्य हो र उनीहरु कुनै प्रकारको कन्फ्यूजनमा छैनन्। विषमयौनिक व्यक्तिहरू र समयौनिक व्यक्तिहरूले एउटा लिङ्गको व्यक्ति मनपराउँछन्, त्यसै गरी द्वयौनिक व्यक्तिहरू दुईवटा लिङ्गमा आकर्षित भएका हुन्। यो कन्फ्यूज भएको होइन।

३१) द्वयौनिकहरुलाई पुरुष महिला दुबै प्रति बराबर आकर्षित हुन्छन् र?

यो आवश्यक छैन। यो व्यक्तिमै भर पर्छ। कसैलाई महिला र पुरुष दुबै प्रति समान आकर्षण होला। कसैलाई महिला प्रति बढी र पुरुष प्रति थोरै आकर्षण होला। कसैलाई पुरुष प्रति बढी र महिला प्रति थोरै आकर्षण होला। यही कुरा बहुयौनिक, सर्वयौनिक व्यक्तिहरूलाई पनि लागु हुन्छ।

३१) यो सबै नयाँ कुरा हो मैले पहिले त यति धेरै सुनेकै थिएन।

यी सबै लैङ्गिक पहिचान तथा यौन अभिमुखिकरणहरू नव सृजित विषयवस्तु होइनन्। मानवताको उदयको इतिहास खोज्दा यी विषयहरू भेटाइन्छन् नै। प्राचीन भारतमा होस्, प्राचीन ग्रीस, ऐतिहासिक इजिप्ट, रोम, पर्सिया, प्रशान्त द्वीपहरूका आदिवासी, मूलवासी अमेरिकी संस्कृति, चिनियाँ इतिहास, जापानी इतिहास, सम्पूर्णका इतिहासमा यस्ता विविधताको बारेमा उल्लेख गरिएकै पाइन्छ। बरु संस्कृति पिच्छे यस्को प्रस्तुतीकरण फरक होला। कसैले काम शुत्रमा चित्र बनाएर कोरे, कसैले भित्तामा कोरे, कसैले ग्रन्थमा लेखे। अभिव्यक्तिको माध्यम फरक भएपनी विभिन्न कालखण्डमा यी विविध विषयहरू उल्लेख भएको पाइन्छ।

शाब्दिक अर्थको अभिव्यक्ति नव निर्मित हुन सक्छ। समाजले हेर्ने दृष्टिकोण अनुसार भाषाको रूप व्यवहार निर्धारण हुन्छ। त्यसै क्रममा लैङ्गिकताका खातेर विभिन्न भाषाहरूमा विभिन्न शब्दहरू निर्माण भएका थिए। फरक के हो भन्दा ती अस्तित्वमा रहेका शब्दहरूको शाब्दिक अर्थले कतिपय भावनाहरूलाई कतिपय व्यक्तिहरूलाई समेट्न सकेनन्। ती नसमेटिएका, नअटाइएका अर्थहरूलाई शब्दको आधार दिन शब्द निर्माण गरिन सक्छ। आफ्नो भावना र पहिचानलाई ठ्याक्कै बुझाउने शाब्दिक अर्थ भएको शब्द निर्माण भएको हुन सक्छ, जुन भाषा तथा मानव समाज विकासमा हुँदै आएको छ। तर यी सम्पूर्ण स्प्रेक्ट्रम भने सँधै रही रहँदै आएका छन्।

थप पठ्य सामाग्री

One thought on “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *